खेल

वडास्तरीय व्याडमिन्टन सुरु

मेन्स डबल्स तर्फ भीम छन्त्याल(१६)ले सर्भिस हिर्काउँदै। तस्बिर: धन/नागरिक

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि वडास्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ। पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा आयोजित प्रतियोगितामा अन्तर्गत डबल्स तर्फको उद्घाटन खेलमा वडा नं १४ का मनु कार्की र सन्तोष मिश्रको जोडीले वडा नं १६ का भीम छन्त्याल र मीन गुरुङको जोडीलाई २२–२०, २१–१६ को सेटमा पराजित गरे। पहिलो सेटमा १०–५ ले अग्रता लिएको अवस्थामा गुरुङ र छन्त्यालको जोडीले १९–१९ को स्थितिमा पुर्याउँदै कडा प्रतिस्पर्धामा उत्रिए।  

पुरुष डबल्स तर्फकै प्रतिस्पर्धामा वडा नं १५ का विशान गुरुङ र रोज रानाको जोडीले देव थापा र कुमार गुरुङ(२९)लाई २१–१६, २१–११ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे। त्यस्तै राजेन्द्र गुरुङ र गुमानसिंह गुरुङ(७)ले जघन घले र दुक्तमान गुरुङ(८)लाई २१–९, २१–१२ को सेटमा पन्छाए। ओम थापा र हेमन्त राई(६)ले विकास गुरुङ र अर्जुन गिरी(१७)को जोडीलाई २१–१८, २१–१८ को सेटमा पराजित गरेका थिए।  

दिनेश श्रेष्ठ र रवि थापा(१६)को जोडीले बलबहादुर श्रीस र प्रितम गुरुङ(२९)को जोडीलाई २१–१९, २१–१६ को सेटमा पराजित गरे। सन्तोष गुरुङ र अमृत गुरुङ(२९)ले पदम जिसी र दयाराम पन्त(१२)को जोडीलाई २२–२०, ७–२१ र २१–३ को सेटमा पराजित गर्न सफल भए। महिला एकल तर्फ नमूना खड्का(१६)ले स्वीकृति उदास(३)लाई २१–१७, २१–१० को सेटमा पन्छाउँदा अर्को खेलमा अनिता गुरुङ(७)ले सृष्टिका उदास(३)लाई २१–३, २१–५ को सेटमा पराजित गरिन्।  

प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले गरे। महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको उदघाटन समारोहमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपाली लगायतले खेलकुदको चर्चा गरेका थिए।  प्रत्येक वडामा खेल मैदान पोखरा महानगरपालिकाको योजना अनुसार अधिकांश वडामा खेलमैदानको नाममा व्याडमिन्टन आउटडोर कोर्ट निर्माण गरिएको छ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै महानगरले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको महानगर खेलकुद विकास समितिका अध्यक्ष गोदारले जानकारी दिए। महानगर खेलकुद विकास समिति गठनपछि यो दोस्रो र तेस्रो प्रतियोगिता हुन्। पहिलो प्रतियोगिताको रुपमा महानगर खेलकुद विकास समितिले १० किलोमिटर खुल्ला दौड प्रतियोगिता गत असोजमा आयोजना गरेको थियो।  

महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का अनुसार प्रतियोगिता अन्तर्गत चार इभेण्टमा १४० जना खेलाडी कोर्टमा उत्रिएका छन। पुरुष एकल, पुरुष डबल्स, महिला एकल र महिला डबल्स इभेण्टमा प्रतिस्पर्धा गराईने प्रतियोगिताका संयोजक भुगोल गुरुङले बताए।  

व्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता खास गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै नवप्रतिभा खेलाडी प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने खेलाडी साथै ईमर्जिङ वा राईजिङ प्लेयरहरुलाई मेडल र प्रमाण पत्रद्धारा पुुरस्कृत गरिने छ। च्याम्पियन बन्ने वडालाई ट्रफी प्रदान गरिने छ। अन्र्तराष्ट्रिय पदकधारी खेलाडी साफ मेडलिस्ट पुनम गुरुङ र अन्र्तराष्ट्रिय खेलाडीहरु उत्पादनमा टेवा पुर्याएको टप्समाविलाई सम्मान गरिने छ।  

प्रकाशित: ५ पुस २०७८ ०९:२८ सोमबार

व्याडमिन्टन