खेल

खेलकर्मी सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी कुल ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट आइतबार सम्मानित गरेको छ।

उसुका दीपक हमाल, जुनी राई र सुस्मिता तामाङ, करातेका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडी केशव थापा सम्मानित भएका हुन्। उसुका तीनै खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेतासमेत हुन्। सम्मानित सबैले जनही एक लाखसहित प्रशंसापत्र प्राप्त गरे।

प्रशिक्षकमा तेक्वान्दोका संगीना वैद्य र नोर्बु लामा सम्मानित भए। दुवैले समान अंक हासिल गरेकाले जनही ५० हजार नगदसहित प्रशंसापत्र पाए। निर्णायकमा पनि तेक्वान्दोकै अशोक खड्का सम्मानित भए। उनलाई एक लाख नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो। सोही अवसरमा ९ खेल पत्रकार पनि सम्मानित भए।

खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्य सम्मानित भए। उनले ५० हजार नगदसहित प्रशंसापत्र प्राप्त गरे। पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रूपन्देहीकी सन्जु पौडेल तथा पोखराका विजय नेपाली जनही २५ हजार र प्रशंसापत्रबाट सम्मानित भए। पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेशगततर्फ प्रदेश–१ का नमिन ढकाल, प्रदेश–२ का वसन्त खतिवडा, बाग्मतीका कुशल तिमल्सिना,गण्डकी सोनिता अर्याल, लुम्बिनीका दीपक न्यौपाने, कर्णालीका रमेशकुमार पाण्डे र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट पुरस्कृत भए।

सातैलाई समान २५ हजार रूपैयाँ नगदसहित प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र सहसचिव एवं प्रवक्ता विष्णुराज ढकालले उनीहरूलाई सम्मान गरे।

प्रकाशित: ५ पुस २०७८ ०४:४३ सोमबार

युवा तथा खेलकुद मन्त्रालय खेलकर्मी सम्मानित राष्ट्रिय खेलकुद प्रतिभा सम्मान