खेल

भलिबल टोलीको बिदाई

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले बिदाई गरेको छ।

राजधानीमा भलिबल संघले एक कार्यक्रमको आयोजना गरेर पर्सिबाट आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीलाई बिदाई गरेको हो। टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव, भलिबसंघका पदाधिकारीले बिदाई गरेका हुन्। दुबै टोली टोली भोलि १२ बजे ढाका प्रस्थान गर्नेछ। बिदाईपछि नेपाली पुरुष टोलीका कप्तान इमराना मगरले मेडलका लागि टोलीले प्रतिस्पर्धा गर्ने बताए।

पुरुष तर्फको टोलीमा मान बहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। घरेलु प्रतियोेगितामा उत्कृष्ट प्रदर्शन गरेका मान बहादुरले भलिबलमा पुनरागमन गर्न पाएर राष्ट्रका लागि खेल्न पाउँदा निकै खुसी भएको बताए। श्रेष्ठले बलिया टोलीसँग प्रतिस्पर्धात्मक खेल खेलेर पदक ल्याउन मिहिनते गर्ने बताए।

यस्तै साविक विजेता महिला टोलीले पनि उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ। कप्तान अरुण शाहीले विगतको सहभागितामा भन्दा राम्रो प्रदर्शन गरेर उपाधि रक्षाका लागि खेल्ने बताइन्। टोलीमा नयाँ र अनुभवी खेलाडीको समिश्रण भएकाले अघिल्लो संस्करणमा भन्दा राम्रो प्रदर्शन गरेर स्वदेश फर्किने बताइन्।

प्रतियोगितामा महिला टोलीतर्फ अघिल्लो संस्करणको टोलीमा ब्यापक हेरफेर गरिएको छ। यो संस्करणमा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन। यस्तै शान्ती थारु, कृपा अधिकारी, कामना विस्ट र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका छन्।

डिसेम्बर २१ देखी २९ तारिख सम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ पाँच टोलीले सहभागिता जनाउँदै छन् भने महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्।  पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहने छ। यस्तै महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्र को सहभागिता रहने छ।

प्रकाशित: ४ पुस २०७८ १०:३८ आइतबार

भलिबल टोली