खेल

साफ महिला फुटबल च्याम्पियनसिपः नेपालले भूटानको सामना गर्ने

फाइल तस्बिर

उन्नाइस वर्षमुनि (यू–१९) को  महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ।बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ। सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ।

भूटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ। फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भूटानविरुद्धको खेल जित्नैपर्ने छ। जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ।

नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो। भूटानले तीन खेलबाट ३ अङ्क जोडेको छ।

चौथो स्थानमा रहेको भूटानले  पहिलो खेलमा श्रीलङ्कलाई ५–० गोलले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा बङ्गलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो।

भारत दुई खेलमा जित हासिल गर्दै ६ अङ्क जोडेर शीर्ष स्थानमा छ। त्यस्तै समान दुई खेल खेलको बङ्गलादेश चार अङ्कका साथ दोस्रो स्थानमा छ भने पाँचाँै स्थानमा रहेको श्रीलङ्का लगातार तीन खेलमा हार बेहोर्दै अङ्कविहीन छ। श्रीलङ्का उपाधि होडबाट बाहिरिएको छ। पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रकाशित: २ पुस २०७८ ०८:१८ शुक्रबार

साफ महिला फुटबल