खेल

रेफ्रीको निर्णयमा जावलाखेल असन्तुष्ट

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले चार खेल (३ सय ६० मिनेट) पछि अंक खाता खोल्यो।

लिगमा जावलाखेलको प्रदर्शन निराशाजनक छैन, तर नतिजाले भने जावलाखेलमाथि दबाब बढिरहेको छ। टोलीले अहिलेसम्म ४ गोल खाँदा गोल खाता भने खोल्न सकेको छैन।

पहिलो खेलमा मनाङ मस्र्याङ्दी र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग समान १–० को हार बेहोरेको जावलाखेलले तेस्रो खेलमा साबिक विजेता मच्छिन्द्र क्लबलाई २–० को नतिजा सुम्पिएको थियो।

पहिलो दुई खेलमा मनाङ र पुलिसलाई नतिजा सुम्पिँदा जावलाखेलका प्रशिक्षक किशोरकुमार केसीले टोलीले उत्कृष्ट प्रदर्शन गरेको तर पाएको अवसर सदुपयोग गर्न नसक्दा नतिजा सुम्पिएको प्रतिक्रिया दिएका थिए। उनले भाग्यले पनि साथ नदिएको प्रतिक्रिया दिएका थिए।

तेस्रो खेलमा मच्छिन्द्रलाई नतिजा सुम्पिँदा गोलकिपर टेकेन्द्रसिंह थापाको कारण खेल गुमाउनुपरेकाले चौथो खेलबाट उनलाई गोलपोस्टको जिम्मा नदिने संकेत गरेका थिए। साथै उनले खेलाडीले सोचेअनुरूपको प्रदर्शन गर्न नसकेको बताएका थिए।

गोलकिपरका साथै अन्य केही खेलाडीको आलोचना गरे पनि अन्तिममा भने उनको भनाइ थियो, ‘हामीले उपाधिका दाबेदार टोलीलाई नतिजा सुम्पिएका छाैँ। आशा छ,आगामी खेलमा टोलीले जितको स्वादसहित ३ अंक जोड्नेछौं।’

जावलखेलले सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चौथो चरणको अन्तिम खेलमा पछिल्लो तीन खेलमा भन्दा सहज टोली ब्रिगेड ब्वाइज क्लबलाई प्रतिद्वन्द्वीका रूपमा पायो। खेलको सुरुआतबाटै जावलाखेलले ब्रिगेड ब्वाइजलाई दबाबमा राखे पनि पाएका केही अवसरको सदुपयोग गर्न नसक्दा गोल खाता भने अझै खोल्न सकेन।

खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक केसी निकै निराश देखिए। उनको प्रस्तुतिबाट सहजै अनुमान लगाउन सकिन्थ्यो, टोलीको जितविहीन यात्राले दबाब बढेको छ। लिगमा पहिलो अंक जोड्दाको खुसीभन्दा पनि केसी खेल सञ्चालन गरेका रेफ्री ज्ञानबहादुर तामाङको निर्णयमा रुष्ट देखिए।

‘यो तरिकाले नेपालको फुटबल विकास हुँदैन। देशकै शीर्ष लिग फिफाका ब्याचबिनाका रेफ्रीले खेलाइरहेका छन्,’केसीले भने,‘आज रेफ्रीले धेरै गल्ती गरे। एन्फाले कुन नियतले अनुभव नभएका रेफ्रीबाट खेल सञ्चालन गरिरहेको छ, बुझ्न सकेको छैन।’ ‘हामीले आज एक अंक जोडेको भन्दा पनि म हामीले दुई अंक गुमाएको रूपमा बुझ्छु,’ केसीले थपे, ‘ब्रिगेडले एक अंकका लागि खेलेको थियो, त्यसमा उनीहरू सफल भए।’ केसीले यसअघिका ३ खेलमा भने रेफ्रीको निर्णयमा कुनेै गुनासो नभएको बताए।

ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठ पनि केसीकै प्रतिक्रियामा सहमत देखिए। ‘सायद मेरा गुरु किशोरकुमार केसीले रेफ्रीको बारेमा बताइसक्नुभयो होला,’ श्रेष्ठले भने,‘जुन स्तरको रेफ्री हुनुपर्ने हो,आज त्यो स्तरको देखिएन।’ श्रेष्ठले टोलीले ३ अंककै लागि खेले पनि रणनीतिअनुसारको प्रदर्शन गर्न नसक्दा १ अंकमा चित्त बुझाउनुपरेको बताए।

चार खेलको समाप्तिमा जावलाखेल १ अंकसहित १३औं स्थानमा छ भने ५ अंक जोडेको ब्रिगेड सातौं स्थानमा छ। यसअघि सोमबार नै भएको खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै चौथो स्थानमा उक्लिएको थियो।

१८औं मिनेटमा नीरज बस्नेतले लक्ष्मण रुचालको कर्नरमा डाइभिङ हेडरमार्फत गरेको गोल संकटालाई ३ अंक जोड्न पर्याप्त बन्यो। जारी लिगमा पुलिसको यो पहिलो हार हो।

प्रकाशित: २८ मंसिर २०७८ ०५:०२ मंगलबार

सहिद स्मारक ‘ए’ डिभिजन लिग जावलाखेल युथ क्लब