खेल

प्रभाव जमाउँदै जुनियर मेसियास

एसी मिलानबाट उनको यो पहिलो सिजन मात्र हो, तर छोटो समयको अन्तरालमै जुनियर मेसियासले आफूलाई एमेच्योर फुटबलरबाट च्याम्पियन्स लिग खेल्ने खेलाडीको उचाइमा पुर्‍याइसकेका छन्।

सन् २०१९ सम्म उनी इटालीका केही स्थानीय प्रतियोगिताका साथै तेस्रो डिभिजनको लिग खेलिरहेका थिए। सन् २०१९ अगस्टमा मेसियासले क्रोटोनबाट सिरी ‘बी’ मा डेब्यु गरेका थिए। ३० वर्षे मेसियासले आफ्नो प्रभाव छोड्दै सात पटकको युरोपियन च्याम्पियन एसी मिलानबाट खेल्ने अवसर पाए।

मेसियास सन् २०११ मा मात्र ब्राजिलबाट इटालीमा सरेका थिए। मिलान सन् २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउने लक्ष्यमा छ।

यिनै मेसियास मिलानको समूहचरणको अन्तिम खेलमा लिभरपुलको सामना गर्दै नकआउट चरणको टिकट काट्ने लक्ष्यको सारथि बन्ने संघारमा छन्। ‘मेरो निरन्तरको मिहिनेतले नै मलाई यहाँ पुर्‍याएको हो,’ मेसियासले भने, ‘मैले अझ सुधारिएको प्रदर्शन गर्न आवश्यक छ।’

जिनोवामाथि ३–० को जितका साथ मिलानलाई सिरी ‘ए’ को शीर्ष स्थानमा फर्काउने क्रममा मेसियासले २ गोल गरेका थिए।

‘गत सिजन म जुन टोलीमा थिएँ, त्यो टोली अहिले रेलिगेसनमा परिसकेको छ,’ उनले भने,‘त्यो मेरा लागि दुर्भाग्य थियो। तर यस सिजन म त्यो टोलीमा छु,जसले आफूलाई उपाधि दाबेदारका रूपमा उभ्याउँदै आएको छ। यसले पनि मेरो मनोबल बढेको छ।’

दुई साताअघि च्याम्पियन्स लिगमा मेसियासले एट्लेटिको मड्रिडविरुद्ध गोल गरेका थिए। मिलान लामो समयको प्रतीक्षापछि च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउने संघारमा रहेको छ। समूह ‘बी’ मा एट्लेटिकोविरुद्धको खेलअघि मिलान मात्र एक अंकका साथ समूहको चौथो स्थानमा थियो र टोली समूह चरणबाटै बाहिरिने संघारमा थियो। तर एट्लेटिकोविरुद्ध हात पारेको ३ अंकले मिलानको नकआउट चरण सम्भावना व्यूँताएको थियो।

समूह ‘बी’ बाट ५ खेलमा १५ अंक बटुलेको लिभरपुल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। बाँकी एक स्थानका लागि एफसी पोर्टोे,मिलान र एट्लेटिकोको सम्भावना कायम नै छ। दोस्रो स्थानको पोर्टोको ५ अंक छ भने तेस्रो स्थानको मिलान र चौथो स्थानको एट्लेटिकोको समान ४ अंक छ।

मिलानलाई नकआउट चरणमा स्थान बनाउन मंगलबार लिभरपुलविरुद्ध ३ अंकको विकल्प छैन तर लिभरपुलमाथिको जितले मात्र पनि मिलानको नकआउट चरण टिकट पक्का गर्दैन। त्यसका लागि मिलानले अर्को खेलमा पोर्टो र एट्लेटिकोले अंक बाँडेको कामना गर्नुपर्नेछ। एट्लेटिकोमाथि पोर्टोेको जितले मिलानको नकआउट चरण प्रवेशको प्रतीक्षा थप लम्ब्याउनेछ।

प्रकाशित: २१ मंसिर २०७८ ०३:१५ मंगलबार

एसी मिलान च्याम्पियन्स लिग प्रभाव जमाउँदै जुनियर मेसियास