खेल

सिटी यस सिजन पहिलो पटक शीर्षमा

डिफेन्डिङ म्यानचेस्टर सिटीले शनिबार जित निकालेपछि इङ्लिस प्रिमियर लिगमा यस सिजन पहिलो पटक अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। 

यस सिजन प्रिमियर लिगमा पछिल्ला समय चेल्सी, लिभरपुल र पेप ग्वार्डिओलाको सिटी शीर्ष स्थानको होडमा थिए। तर, शनिबार शीर्ष स्थानको चेल्सीको हार हुँदा ग्वार्डिओलाको टोली सिटीले सफलता प्राप्त गरेपछि शीर्ष स्थानमा उक्लिएको हो।

सिटीले वाटफोर्डलाई उसैको मैदानमा ३–१ ले स्तब्ध बनाउँदै उपाधिको होडमा बलियो चुनौती जारी राख्यो। पछिल्ला चारमध्ये तीन प्रिमियर लिगको उपाधि जितेको ग्वार्डिओलाको सिटीले यस पटक पनि लय जारी राखेको छ। रहिम स्टर्लिङको गोलबाट अग्रता लिएको सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गरे।

सिटीले लिगमा लगातार पाँच जित निकाल्दै चेल्सी र लिभरपुलमाथि समेत दबाब सिर्जना गरेको छ। १५ खेल सकिँदा सिटीले लिभरपुलसँग एक अंक र चेल्सीसँग दुई अंकको अग्रता लिएको छ। ‘लिगको दोस्रो र तेस्रोमा रहँदाभन्दा शीर्ष स्थानमा रहँदा गौरवको महसुस हुन्छ। तथापि,अझै धेरै समय बाँकी छ,’ सिल्भाले भने।

वेस्ट ह्यामले चेल्सीलाई ३–२ को हार चखाउँदै उपाधिहोडमा रोमाञ्चकता प्रदान गर्‍यो। त्यसपछिको अर्को खेलमा लिभरपुल पनि जितविहीन अवस्थामा पुगेको थियो। तर,इन्जुरी समयमा डिभोक ओरिगीले गोल गरेपछि लिभरपुलले उल्भरह्याम्पटनमाथि १–० को साँघुरो जित निकाल्यो। 

त्यो जितले योर्गान क्लोपको टोली केही घन्टासम्म लिग तालिकाको शीर्षमा रह्यो। तर, सिटीको रबाफिलो जितपश्चात् भने लिभरपुल दोस्रो स्थान र चेल्सी तेस्रो स्थानमा झरे। खेलको चौथो मिनेटमा नै स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए। फिल फोडेनको लामो पास नियन्त्रणमा लिँदै स्टर्लिङले गोल गरे। ३१औं मिनेटमा सिल्भाले अग्रता दोब्बर बनाए। उनले डिफेन्डरलाई पछि पार्दै गोल गरेका हुन्। त्यो गोलसँगै पहिलो हाफ पूर्णरूपमा सिटीकै पकडमा रह्यो।

जहाँ सिटीले ८१ प्रतिशत बल पोसेसन आफ्नो नियन्त्रणमा राख्दै कयौं गोलका अवसर सिर्जना गरेको थियो। ६३औं मिनेटमा सिटीले अग्रता तेब्बर बनायो।

यस पटक पनि सिल्भाले टप कर्नर गोल गर्दै सिटीलाई सहज जिततर्फअग्रसर गराए। तर, ७४औं मिनेटमा वाटफोर्डका चुचो हर्नान्डेजले गोल फर्काउँदै आफ्नो टोलीलाई ३–१ को स्थितिमा पुर्‍याए। यद्यपि, त्यसपछि थप गोल हुन नसक्दा ग्वार्डिओलाको सिटीले नवौं क्लिन सिट सुरक्षित गर्‍यो।

शीर्ष टोलीमाथि वेस्ट ह्यामको रबाफ

वेस्ट ह्यामले यस सिजन शीर्ष टोलीमाथि आफ्नो रबाफिलो शैली प्रस्तुत गरेको छ। डेविड मोयजको टोली वेस्ट ह्यामले यसअघि नै लिभरपुललाई स्तब्ध बनाएको थियो। त्यो नै लिभरपुलले यस सिजनको लिगमा अहिलेसम्म बेहोरेको एक मात्र हार हो।

वेस्ट ह्यामले यस सिजन अर्को बलियो टोली टोटनह्यामलाई पनि लिगमा हराएको थियो। साथै वेस्ट ह्यामले दुवै म्यानचेस्टर क्लबलाई यस सिजनको लिग कपबाट बाहिर पठायो। शनिबार लिगमा चेल्सीमाथि पनि रबाफिलो शैली दोहोर्‍याउँदै उसलाई उपाधि होडमा कमजोर बनाएको छ।

यो जितले पनि वेस्ट ह्यामलाई बलियो टोलीको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेर्न थालिएको छ। साथै चेल्सीमाथिको जितले वेस्ट ह्यामलाई शीर्ष चारमा बलियो टोलीसमेत बनाएको छ।

८७औं मिनेटमा वेस्ट ह्यामका अर्थर मासुकुले गोल गर्दै चेल्सीलाई स्तब्ध बनाए। उक्त गोलसँगै एक अंकनजिक रहेको चेल्सीले त्यो अंक पनि गुमाउनुपर्‍यो र वेस्ट ह्यामले ३–२ को रोमाञ्चक जित दर्ता गर्‍यो।

लिभरपुलमाथि पनि वेस्ट ह्यामले सोही नतिजा निकालेको थियो। ‘तेस्रो गोल भाग्यशाली रूपमा प्राप्त भयो,’ मोयजले भने, ‘तथापि, बक्समा रहँदा गोलको प्रयास भने गर्नुपर्छ।’ चेल्सीले दुई पटकसम्मको अग्रता पनि जोगाउन नसक्दा हार बेहोर्‍यो। शनिबार नै लिभरपुलले पनि जितका लागि निकै संघर्ष गर्नुपर्‍यो।

अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका ओरिगीले नै लिभरपुललाई महत्वपूर्ण जित दिलाए। मोहम्मद सालाहको कट पास नियन्त्रणमा लिँदै उनले गोल गरेका थिए। शनिबार नै न्युक्यासलले यस सिजनको पहिलो जित निकाल्यो।

लिगको आफ्नो १५औं खेलमा न्युक्यासलले बर्नलीमाथि १–० को जित दर्ता गरेको हो। ४०औं मिनेटमा कलुम विल्सनले गरेको गोल नै न्युक्यासललाई सिजनको पहिलो जित दिलाउन पर्याप्त बन्यो। 

प्रकाशित: २० मंसिर २०७८ ०५:४७ सोमबार

इङ्लिस प्रिमियर लिग डिफेन्डिङ म्यानचेस्टर सिटी