खेल

यु–१९ क्रिकेटः सुदूरपश्चिम प्रदेश फाइनलमा

बाग्मती प्रदेशमाथि ८ विकेटको सानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको खेलमा सुदूरपश्चिमले बाग्मती प्रदेशलाई हराउँदै लुम्बिनीसँग उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेको हो। ६ मध्ये ४ खेलमा जित निकालेको सुदूरपश्चिम राम्रो नेट रन रेट बनाउँदै शीर्ष दुईमा पुगेको हो।

लुम्बिनीसँग उपाधि भिडन्तका लागि स्थान बनाउने क्रममा ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३२.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।

सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले अविजित ३१ रनको योगदान गरे। ५८ बलको सामना गरेका नरेनले ६ चौका प्रहार गरेका थिए भने ३९ बलको सामना गरेका राहुलले ५ चौका प्रहार गरेका गरेका थिए।

१६ रन जोड्दा पहिलो विकेट गुमाएको सुदूरपश्चिमले ३७ रनमा दोस्रो विकेट गुमाए पनि ओपनर नरेनले सम्हालिएको प्रदर्शन गर्दै टोलीको स्कोरलाई एक इनिङबाट अगाडि बढाएका थिए। यस्तै कप्तान खडक बोहोराले ५ रनको पारी खेल्दा वसन्त कार्की ११ रनमा पवेलियन फर्किए।

सुदूरपश्चिमको दुई विकेट निकाल्ने क्रममा बाग्मतीका गौतम केसी र प्रतीश जिसीले समान एक÷एक विकेट हात पारे। १० ओभर बलिङ गरेका प्रतीशले ३ मेडन राख्दै २६ रन खर्चिन पुगेका थिए। यस्तै ७.१ ओभर बलिङ गरेको गौतम केसीले ३६ रन खर्चिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बाग्मतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन जोडेको थियो। सुरुआतबाट नै सुदूरपश्चिमका बलरसामु निरीह बनेको बाग्मतीले १३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। त्यसपछि क्रिजमा टिक्न नसकेको बाग्मतीले २६ रन जोड्दा पाँच विकेट गुमाउन पुगेको थियो।

दोस्रो नम्बरमा आएका विवेक मगरले सम्हालिएको इनिङ खेल्दै सर्वाधिक ३२ रन जोड्दा क्रिस कार्कीले १७ रन जोडे। सर्वाधिक रन बटुलेका विवेकले ७५ बलको सामना गर्दा ४ चौका प्रहार गरेका थिए। यस्तै १७ रन जोडेका क्रिसले ३० बलको सामना गर्दा २ चौका र एक छक्का चट्काएका थिए। बाग्मतीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् र ९६ रनको सामान्य लक्ष्य पेस गर्‍यो।

बाग्मती प्रदेशविरुद्ध कसिलो बलिङ गर्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामीले सबैभन्दा धेरै ५ विकेट हात पारे। धामीले १० ओभर बलिङ गर्दा ४ मेडन ओभर राख्दै १९ रन खर्चिएका थिए।

यस्तै शेर मल्लले पनि बाग्मतीविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार विकेट निकाले। ५.१ ओभर बलिङ गरेका मल्लले ३१ रन खर्चिन पुगेका थिए। यससँगै राजधानीमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोयिगतामा राउन्ड रोबिन लिगका खेल सकिएका छन्। प्रतियोगितामा फाइनल खेल आइतबार हुनेछ।

प्रकाशित: १८ मंसिर २०७८ ०३:५० शनिबार

बाग्मती प्रदेश पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश