खेल

एपिएफसँगको जितपछि सातदोबाटो शीर्षमा

एपिएफमाथि सहज जितका साथ सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिए पनि सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने आफ्नो टोलीले विपक्षी गोलकिपरको फाइदा मात्र उठाएको प्रतिक्रिया दिएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न तेस्रो चरणअन्तर्गत दोस्रो खेलमा अजयी मार्टिन्सको ह्याट्रिकप्रेरित सातदोबाटोले एपिएफमाथि ४–१ को रबाफिलो जित हात पारेको हो।

तीन खेलमा सात अंक जोडेको सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी दोस्रो स्थानमा छ। पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा थ्री स्टार क्लबलाई १–० ले स्तब्ध पारेको थियो।

‘आजको फराकिलो जितले सन्तुष्ट छु, तर टोलीको प्रदर्शनमा भने अझै सुधार आवश्यक छ,’ मेघराजले भने, ‘जितअन्तर हेर्दा हाम्रो टोलीले राम्रो खेलेको देखिन्छ तर हाम्रो टोलीमा रहेको फिनिसिङको समस्या भने उस्तै छ।

आज एपिएफको ब्याड लक, पहिलो रोजाइका गोलकिपर चोटक कारण प्लेइङसेटमा थिएनन्। दोस्रो रोजाइका गोलकिपर पनि २० मिनेटमै चोटकै कारण मैदानबाट बाहिरिए।

तेस्रो रोजाइका गोलकिपरले एपिएफबाट डेब्यु गरे। हामीले एपिएफका तेस्रो रोजाइका गोलकिपरको कम अनुभवको फाइदा उठाउँदा सहज जित निस्कियो।’

मेघराजले अझ लामो यात्रा तय गर्न बाँकी रहेकाले अहिले नै अंकतालिकामा ध्यान केन्द्रित नगरेको बताए। ‘हामी लिगका प्रत्येक खेल जित्न चाहन्छौं। भर्खरै यात्रा सुरु भएको छ,’ उनले भने, ‘अझ धेरै खेल बाँकी छन्।

हामी स्वाभाविक खेलमा केन्द्रित छाैँ, अंकतालिकामा होइन ।’ चोटका कारण पहिलो रोजाइका गोलकिपर राजु योगी करिब तीन साता मैदानबाहिर रहने भएकाले अमृत चौधरीले सातदोबाटोविरुद्ध गोलपोस्ट सम्हाल्ने जिम्मेवारी पाएका थिए।

तर अमृत पनि घाइते हुँदै मैदानबाट बाहिरिएपछि एपिएफले तेस्रो रोजाइका गोलकिपर दिलकुमार लिम्बुलाई बाँकी ७१ मिनेट पोस्ट सम्हाल्ने जिम्मेवारी दिएको थियो। जसको प्रत्यक्ष फाइदा सातदोबाटोले उठायो। ४२औं मिनेटमा मार्टिनले सातदोबाटोका लागि गोल खाता खोलेका थिए। इन्जुरी समयको पाँचांै मिनेटमा मार्टिनले सातदोबाटोको अग्रता दोब्बर पारेका थिए।

४७औं मिनेटमा सातदोबाटोका करण रावतले गरेको आत्मघाती गोलमा एपिएफले गोलअन्तर कम गरेको थियो। तर त्यसको तीन मिनेटपछि नै सुशील राईले बललाई जाली चुमाउँदै सातदोबाटोको अग्रता ३–१ मा पुर्‍याएका थिए। ५८औं मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरेसँगै सातदोबाटोले सहज जित पक्का गरेको थियो।

जारी सिजन यो लिगकै पहिलो ह्याट्रिक र फराकिलो अन्तरको जित हो। एपिएफको भने यो लगातार तेस्रो हार हो। पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–२ को नतिजा सुम्पिएको एपिएफ दोस्रो खेलमा च्यासल युथ क्लबसँग१–० ले पराजित भएको थियो। एपिएफका प्रशिक्षक कुमार थापाले लगातार तेस्रो हारले टोलीमाथि दबाब बढेको बताए। ‘गत सिजन पनि हामी रेलिगेसनबाट बच्न संघर्षरत थियौं,त्यो बेला हामीले सुरुआती दुई खेल गुमाएका थियाैँ।

तर यस सिजन त हामीले लगातार तेस्रो हार व्यहोरेका छाैँ। त्यसैले टोलीमाथि दबाब बढेको छ। तर हामी रेलिगेसनबाट बच्नेमा विश्वस्त छौ। सुरुआती तीन खेलमा९ अंक गुमायाैँ। तर अझै १० खेल अर्थात् ३० अंक बाँकी छ। हामीले कम्तीमा १५ अंक जोड्नेछाैँ।’ 

प्रशिक्षक थापाले नतिजा फराकिलो भए पनि टोलीले गरेको प्रदर्शनमा सन्तुष्ट रहेको बताए। ‘हामीले क्रमिक रूपमा सुधार गरिरहेका छौं। आज राजुको स्थानमा अमृतलाई मैदान उतारेका थियौं,’ थापाले भने, ‘तर उनी पनि घाइते भएपछि तेस्रो रोजाइको गोलकिपर मैदान उतार्न पर्‍यो, त्यसले टोलीमाथि दबाब बढ्यो। साथै रक्षकले पनि रणनीतिअनुरूपको प्रदर्शन गर्न सकेनन्। शुक्रबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले थ्री स्टारलाई १–१ को बराबरीमा रोकेको थियो।

पहिलो खेलमा च्यासललाई हराएको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग निराश भएको थियो। फ्रेन्ड्स भने पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरीमा रोकिए पनि दोस्रो खेलमा बिबिसीसँग पराजित भएको थियो।

प्रकाशित: १८ मंसिर २०७८ ०२:०९ शनिबार

दशरथ रंगशाला मनाङ मस्र्याङ्दी दोस्रो स्थानमा