खेल

मैवाखोलामा मंसिर २४ गतेबाट अन्तरपालिका भलिबल प्रतियोगिता

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता गर्ने भएको छ। यही मंसिर २४ गतेदेखि ३ लाख रुपैयाँ राशीको प्रथम अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाका प्रवक्ता थर्ककुमार(दिवस)चोङवाङले जानकारी दिए।

उनका अनुसार विजेताले नगद ३ लाख रुपैयाँसहित १ सय ६० तोला चाँदी जडित तीन वर्षे अध्यक्ष रनिङ कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै उपविजेताका लागि नगद १ लाख ५० हजार सहित कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ।

सेमी फाइनलमा पुग्ने दुई टीमलाई सान्त्वना स्वरुप नगद ३५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने निर्णय भएको समेत उनले जानकारी दिए।

प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कारको पनि व्यवस्था गरिएको छ। त्यस्तै वेष्ट प्लेयर अफ द टुर्नामेण्ट बन्नेलाई नगद दस हजार, वेष्ट सर्भर, वेष्ट डिफेन्डर, वेष्ट सटर, वेष्ट ब्लकर र वेष्ट स्पाईकरका लागि नगद ५ हजार रुपैंया सहित मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७८ ०९:२२ शुक्रबार

भलिबल प्रतियोगिता