खेल

जोकोभिचको सहभागिता अन्योल

अस्ट्रेलियन ओपनका आयोजकले साबिक विजेता नोभाक जोकोभिचलाई बन्देज लगाउनका लागि नभई प्रतियोगितामा सहभागी खेलाडीलाई उनीहरूकै सुरक्षाका लागि कोभिड १९ विरुद्धको भ्याक्सिन अनिवार्य गरिएको बताएका छन्।

जनवरीबाट मेलबर्नमा सुरु हुने वर्षको पहिलो ग्रान्ड स्लाममा ३४ वर्षे विश्व नम्बर एक जोकोभिच कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने लक्ष्यमा छन्। तर जोकोभिचले अहिलेसम्म कोभिड १९ विरुद्ध भ्याक्सिन लगाएको वा नलगाएका बारे केही बताएका छैनन्।

जोकोभिचका पिता सजानले आइतबार मात्र सर्बियन टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा आफ्नो छोराले अस्ट्रेलियन ओपनमा सहभागी हुन कोभिड १९ विरुद्धको भ्याक्सिन अनिवार्य गरिएका कारण प्रतियोगितामा सहभागी हुने सम्भावना न्यून रहेको बताएका थिए।

‘पक्कै पनि जोकोभिच कीर्तिमान रच्ने दौडमा थिए,’उनले भने, ‘तर उनले खेल्ने सम्भावना न्यून छ। उनी यो अवस्थामा कोर्ट उत्रने छैनन्, जहाँ कोभिड १९ विरुद्धको खोप अनिवार्य गरिएको छ।’ भिक्टोरिया राज्यका खेलकुदमन्त्री मार्टिन पाकुलाले आफू नौ पटकका च्याम्पियन जोकोभिचलाई मेनबर्नमा देख्न आतुर हरेको बताएका थिए। ‘कुनै पनि विदेशी खेलाडी वा पदाधिकारीले मेलबर्न भ्रमण गर्दा अनिवार्य रूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएको हुनुपर्दछ,’ मार्टिनले भने, ‘यो खेलाडी वा पदाधिकारीले वहन गर्ने जिम्मेवारी हो। यो सबैका लागि बाध्यकारी प्रावधान हो।

यसलाई दबाब दिइएको रूपमा लिनु हुँदैन। यो स्वास्थ्य सुरक्षाका लागि चालिएको कदम हो।’ प्रतियोगिताका प्रमुख क्रायग टिलेले पनि गत महिना कोभिड १९ भ्याक्सिन अनिवार्य गरिएको र यसमा कुनै सम्झौता नगर्ने बताएका थिए।

अस्ट्रेलिय ओपन २०२१ बन्द कोर्टमा खेलाइएको थियो भने प्रतियोगिताअघि खेलाडीलाई दुई साताको होटल क्वारेन्टिन अनिवार्य गरिएको थियो।

यस पटक भने भ्याक्सिन लगाइएका खेलाडीले क्वारेन्टिनमा बस्नुपर्ने छैन। यस पटक प्रतियोगिता २०२२ जनवरी १७ बाट सुरु हुँदै छ।

प्रकाशित: १६ मंसिर २०७८ ०३:४७ बिहीबार

अस्ट्रेलियन ओपन कोभिड १९ विरुद्धको भ्याक्सिन अनिवार्य जोकोभिचका पिता सजान