खेल

‘राष्ट्रिय टोलीको प्रदर्शन सुधार नै प्राथमिकता’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय टोलीको प्रदर्शन सुधार नै आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन्।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नवनियुक्त सदस्यसचिव घिसिङले राष्ट्रिय टोलीको सुधार आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकद्वारा राखेपको १९औं सदस्यसचिवमा नियुक्त घिसिङले मंगलबार नै पद तथा गोपनीयताको सपथ लिएका थिए।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उनलाई शपथ गराएका हुन्। सोही अवसरमा नवनियुक्त सदस्यसचिव घिसिङले पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षका लागि १६ पेजको कार्ययोजना प्रस्तुत गर्दै नेपाली खेलकुदमा नयाँ युग सुरुआत गर्ने  संकल्प समेत गरे।

‘खेलकुदमा प्राप्त केही उपलब्धिमा नै खुसी भएर बस्दिनँ। राष्ट्रिय टोलीको प्रदर्शनमा सुधारका लागि काम गर्नेछु,’घिसिङले भने, ‘हामी किन पहिलो हुन सकेनौं भन्ने समीक्षा गर्नु आवश्यक छ। अन्तर्राष्ट्रिय स्तरमा हाम्रा प्रदर्शनबारे पनि समीक्षा हुनुपर्छ ।’ उनले मन्त्रालयसमक्ष आफूले पेस गरेका कार्ययोजनाअनुरूप नै काम गर्ने समेत विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार आफूले काम गर्ने र सरोकारवालालाई पनि त्यसको कार्यान्वयनततर्फअग्रसर गराउने उनको भनाइ थियो।

‘नयाँ ऐन जारी भएपछि साधारणसभा गर्नुपर्ने १ सय ५० भन्दा बढी संघ छन्। नियम नबनेका कारण साधारण रोकिएको छ। नियम बनाउने गृहकार्य भए पनि पूर्णता पाउन सकेको छैन। त्यसतर्फ मेरो ध्यान जानेछ।’ साथै उनले नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर काम गर्ने योजना सुनाए। ‘नवौं राष्ट्रिय खेलकुदले राष्ट्रिय टोलीको तयारीलाई जोड्छ।

त्यो राष्ट्रिय टोली निर्माणको एउटा  महत्त्वपूर्ण पक्ष हो।एसियन गेम नजिकै रहेकाले लगत्तै बन्द प्रशिक्षण पनि राख्नुपर्छ। मेरो कार्ययोजनामा कम्तीमा एक वर्ष टोली तयारीकै निमित्त जानेछ। समय एक वर्षभन्दा कम छ,’ उनले भने।

महालेखा परीक्षणको प्रतिवेदन हेर्ने हो भने खेलकुदमा धेरै समस्या देखिएको उनले उल्लेख गरेका छन्। ‘निकै बेरुजु र पेस्की पछ्र्याैट हुन बाँकी रहेको संस्थाको रूपमा राखेप चित्रित छ। यसलाई पूर्ण रूपले शून्यमा झार्न मैले काम गर्नुपर्छ,’ घिसिङले भने, ‘राखेप राष्ट्रको एउटा  महत्त्वपूर्ण निकाय हो।

नागरिकको स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको संस्था यति धेरै कमजोर हुनु हुँदैन,’ नवनियुक्त सदस्यसचिव घिसिङले भनेका छन्। शपथ ग्रहणको अवसरमा परिषद्का उपाध्यक्ष शिवकुमार कोइरालाले ऐन कार्यान्वयनका निम्ति संयुक्त प्रयासको विकल्प नरहेको उल्लेख गर्दै खेल क्षेत्र विकासका लागि युद्धस्तरमा काम गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री गहतराजले निजामती कर्मचारीको जीवन व्यवस्थापनका लागि सरकारले जसरी काम गरेको छ, सोहीअनुरूप खेलाडीका लागि पनि राज्यले नीतिगत व्यवस्थापन गर्न सके उनीहरूले राज्यका लागि कयौं योगदान गर्न सक्ने बताए।मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नवौं राष्ट्रिय खेलकुदलाई समयमै आयोजना र कर्मचारी समायोजन गर्नुपर्नेलगायत कयौं चुनौती राखेप सदस्यसचिव समक्ष रहेको बताए।

प्रकाशित: १५ मंसिर २०७८ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App