खेल

रहेनन् लामा टेन्डी

नेपाली खेलकुदका विभिन्न निकायको नेतृत्वमा रहेका नेपाल बास्केटबल संघका निवर्तमान अध्यक्ष लामा टेन्डी शेर्पाको बुधबार निधन भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्षका साथै नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वमहासचिवसमेत रहेका टेन्डी शेर्पाको बुधबार निधन भएको हो।

५० वर्षे शेर्पा पछिल्लो तीन वर्षदेखि नसासम्बन्धी रोगसँग लडिरहेका थिए। उक्त रोग लागेपछि उनले अमेरिका, भारत र चीनमा उपचार गराएका थिए। उनको नेतृत्वमा नेपालमा बास्केटबलले केही उचाइ लिएको थियो। हक्की स्वभाव र खेलप्रेमी लामाको नेतृत्वमा नेपालमा बास्केटबलले उचाइ लिएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले बताए।

‘उहाँको नेतृत्वअगाडि बास्केटबल गुमनाम थियो। तर, उहाँ नेतृत्वमा आएपछि गतिविधि बढ्न थाल्यो। उहाँको अनुपस्थितिमा जुझारु नेतृत्वको अभाव रहनेछ,’ थापाले भने। शेर्पाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटीले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन्।

प्रकाशित: ९ मंसिर २०७८ ०२:५३ बिहीबार

नेपाल बास्केटबल संघ निवर्तमान अध्यक्ष टेन्डी शेर्पा