खेल

च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

क्रिस्टियानो रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेडले मंगलबार भिल्लारियललाई हराउँदै अन्तिम १६ को यात्रा तय गर्दा डिफेन्डिङ च्याम्पियन चेल्सीले पनि युभेन्ट्सलाई स्तब्ध बनाउँदै नकआउट चरणमा स्थान बनाएको छ।

यसै हप्ता प्रशिक्षक ओले गनर सोल्सजायर बर्खास्त भएपश्चात् पहिलो खेल खेलेको युनाइटेडले मंगलबार भिल्लारियललाई २–० ले हराउँदै समूह ‘एफ’ बाट अन्तिम १६ को यात्रा तय गरेको हो। पछिल्ला खेलमा लगातार हार सामना गरेकाले युनाइटेडमाथि धेरै दबाब थियो। नकआउट चरण पुग्न स्पेनिस टोलीमाथि जितको विकल्प युनाइटेडसँग थिएन। अन्तरिम प्रशिक्षक मिकाइल क्यारिकको प्रशिक्षणमा उत्रिएको युनाइटेडले जितका लागि अन्तिम समय कुर्नुप¥यो। डेविड डे हेयाको उत्कृष्ट दुई बचाउमा युनाइटेडले महŒवपूर्ण अंक बटुल्यो। ७८औं मिनेटमा रोनाल्डोकै गोलबाट युनाइटेडले अग्रता लिएको थियो।  

यसै सिजन युनाइटेडले खेलाडी ट्रान्सफरमा अत्यधिक पैसा खर्चिएको थियो। जहाँ रोनाल्डोसहित बोरुसिया डर्टमन्डबाट जाडोन सान्चो पनि अनुबन्धित थिए। उनै सान्चोले पनि खेलको अन्तिम समयमा गोल गरे। सान्चोले भिल्लारियलविरुद्ध व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए। ‘यो नतिजा मेरो व्यक्तिगत फाइदाका लागि महŒवपूर्ण छैन। यो नतिजा सबै खेलाडी र क्लबका लागि विशेष हुन्छ,’ अन्तरिम प्रशिक्षक क्यारिकले भने। भिल्लारियलविरुद्ध गोल गर्दै रोनाल्डोले आफ्नो खेल करियरमा ७ सय ९९ गोल पूरा गरेका छन्। उनले च्याम्पियन्स लिगमा १ सय ४० गोल गरेका छन्।

च्याम्पियन्स लिगमा रोनाल्डोले यस सिजन भने छैटौं गोल गरे। एटलान्टाले योङ ब्वाइजसँग ३–३ गोलको बराबरी बेहोर्न बाध्य भएपछि नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउने अवसर गुमायो। भिन्सेन्ट सिइरो र सिल्भान हेफ्टीको गोलबाट स्विस टोली योङ ब्वाइज ३–२ ले अगाडि थियो। तर, ८८औं मिनेटमा लुइस मिरिलले गोल फर्काउँदै एटलान्टालाई हारबाट जोगाए। अन्तिम खेल बाँकी छँदा भिल्लारियलको ७ अंक र एटलान्टको ६ अंक छ। अर्को महिना बर्गामोमा यी दुई टोली नै भिड्नेछन्।  

युभेन्ट्समाथि चेल्सीको रबाफ

चेल्सीले समूह ‘एच’ बाट नकआउट चरणमा स्थान बनाउँदा घरेलु मैदान स्टामफोर्ड ब्रिजमा युभेन्ट्समाथि ४–० को रबाफिलो जित निकाल्यो। थोमस टुचलको चेल्सी युभेन्ट्ससँग हारबाट जोगिँदा या जेनिट सेन्ट पिटर्सबर्गले माल्मोलाई हराउन असफल हुँदा पनि इङ्लिस क्लबको नकआउट चरण पक्का हुने समीकरण थियो। तर, चेल्सीले युभेन्ट्ससँग सुरुआतदेखि नै अग्रता लियो। डिफेन्डर ट्रेभोअले चालोबाहले २५औं मिनेटमा नै चेल्सीलाई अग्रता दिलाए। उनीसँगै चेल्सीका डिफेन्डरले लगातार राम्रो प्रदर्शन गरे। थियागो सिल्भाले दोस्रो हाफको सुरुआतमै गरेको उत्कृष्ट हेडर युभेन्ट्सका गोलकिपर ओजसिच स्टेस्नीले बचाउ गरे।

अर्का डिफेन्डर रेसे जम्सेले ५६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको दुई मिनेट बित्न नपाउँदै चेल्सीले तेस्रो गोल थप्यो। रुबेन लफ्टस चेकको पास सदुपयोग गर्दै हडसन ओडोईले गोल गरे। इन्जुरी समयमा टिमो वेर्नेरले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए। ‘आज हामीले उत्कृष्ट प्रदर्शन ग¥यौं। युभेन्ट्सजस्तो टोलीविरुद्ध अवसर सिर्जना गर्नु निकै कठिन हुनेछ,’ टुचेलले भने। यस समूहबाट दोस्रो स्थानको युभेन्ट्सले पनि नकआउट चरणमा स्थान बनाइसकेको छ। जेनिटले माल्मोसँग १–१ बराबरी खेलेपछि युरोपा लिगमा स्थान बनायो।  

बार्सिलोनाको संघर्ष  

समूह ‘ई’ को बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा पोर्चुगिज क्लब बेनफिकासँग गोलरहित बराबरीमा रोकिएपछि नकआउट चरणको यात्रा कठिन बनेको छ। जाभीको प्रशिक्षणमा दोस्रो खेल खेलेको बार्सिलोनाले नकआउट चरणमा पुग्न बायर्न म्युनिखसँगको समूहको अन्तिम खेलमा जित्नुपर्ने भएको छ। तेस्रो स्थानको बेनफिकाले डाइनामो किभसँग पराजय बेहोरे पनि बार्सिलोनाले नकआउट चरणमा स्थान बनाउनेछ। समान एक खेल बाँकी छँदा बायर्नले १५ अंक, बार्सिलोनाले ७ अंक र बेनफिकाले पाँच अंक जोडेका छन्।  

मंगलबार बायर्नले डाइनामो किभसँग २–१ को जित निकाल्दै समूहको शीर्ष स्थान पक्का गर्‍यो। समूह ‘जी’ को खेलमा लिलेले साल्जबर्गलाई १–० ले र सेभियाले वुल्फसबर्गलाई २–० ले हराएपछि यस समूहबाट नकआउट चरणको समीकरण रोमाञ्चक बनेको छ। समान एक खेल बाँकी छँदा शीर्ष स्थानको लिलेको ८ अंक, साल्जबर्गको सात अंक, सेभियाको ६ अंक र वुल्फसबर्गको पाँच अंक छ। यी चारै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना बाँकी नै छ। समूहको अन्तिम खेलमा लिलेले वुल्फसबर्ग र साल्जबर्गले सेभियाविरुद्ध खेल्नेछन्।

प्रकाशित: ९ मंसिर २०७८ ०२:५१ बिहीबार