खेल

आर्मीकी मीनुलाई स्वर्ण

त्रिभुवन आर्मी क्लबकी मीनु गुरुङले प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् ।१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेतासमेत रहेकी मीनुले महिला ५४ केजीमा स्वर्ण जितेकी हुन्।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा उनले नेपाल पुलिसकी निशा तामाङलाई पराजित गरिन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाललाई हराउँदै स्वर्ण प्राप्त गरिन् ।

शुक्रबार भएका अधिकांश फाइनलमा विभागीय टोलीका खेलाडी हाबी भए । त्यसै गरी ५० केजी तौलसमूहमा एपिएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजीमा आर्मीकी ललिता महर्जनले नक्सालकी शीला राईलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे।

पुरुष ४८ केजीमा आर्मीका सुशील थापाले सुर्खेतका मोहन गुरुङ र ५१ केजीमा एपिएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङलाई हराउँदै स्वर्ण जिते । पुरुष ५४ केजी तौलसमूहको फाइनलमा आर्मीका प्रेम चौधरीले भूपू बक्सिङका उपास गुरुङलाई हराउँदा ५७ केजीको फाइनलमा पनि विभागीय टोलीका खेलाडी नै हाबी हुँदा एपिएफका पुरन राईले बक्समान्डुका सुरज महर्जनलाई हराए।

पुरुष ६० केजीको फाइनलमा भने विभागबाहिरका खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जहाँ बिएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्दलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे। त्यस्तै ६३.५ केजीमा एपिएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई हराउँदै स्वर्ण जिते ।

विजेतालाई पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वमन्त्री बीना मगर, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए।

प्रत्येक स्पर्धाका विजेतालाई पाँच सय युरो,उपविजेतालाई तीन सय युरो र तेस्रोलाई २/२ सय युरो नगद पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) का अध्यक्ष उमार क्रेमलेभले व्यक्तिगत रूपमा उपलब्ध गराएका हुन्।

प्रकाशित: ४ मंसिर २०७८ ०२:३६ शनिबार