खेल

हिमालयन शेर्पालाई नेपाल आइसको साथ

सहिद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पासँग नेपाल आइस मुख्य प्रायोजकका रूपमा जोडिएको छ। हिमालयन शेर्पाले हालै एक कार्यक्रमको आयोजना गरी नेपाल आइससँग मुख्य प्रायोजन सम्झौता गरेको हो।

हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा र सिजीका बिजिनेस हेड प्रदीप पुडासैनीले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षका लागि प्रायोजन गर्नेछ भने हिमालयन शेर्पाले ‘ए’ डिभिजन लिगमा नेपाल आइस अंकित लोगो भएको जर्सी लगाउनेछ। प्रायोजन रकम खुलाइएको छैन। सम्झौतापछि बोल्दै सिजीका बिजिनेस हेड पुडासैनीले सामाजिक उत्तरदायित्व र फुटबल विकासका लागि नेपाल आइस हिमालयन शेर्पा क्लबसँग जोडिएको बताए।

यस्तै हिमालयन शेर्पा क्लबले स्पोटर््स किट्स पार्टनरका रूपमा खेलकुद पोसाक कम्पनी केटिएम सिटीसँग साझेदारी गरेको छ। हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्बुदोर्जे शेर्पा र केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पाले सम्झौतापत्र आदानप्रदान गरे। सम्झौतासँगै केटिएम सिटीले हिमालयन शेर्पालाई २५ लाखबराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ र ‘ए’ डिभिजन लिगमा शेर्पाले केटिएम सिटीको जर्सी प्रयोग गर्नेछ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिग शुक्रबारबाट हुँदै छ। हिमालयन शेर्पाले शनिबार काठमाडौंको पुरानो क्लब संकटासँग खेल्दै लिगको सुरुआत गर्नेछ।

प्रकाशित: ४ मंसिर २०७८ ०२:०८ शनिबार