खेल

अप्ठ्यारोमा रोनाल्डोको विश्वकप यात्रा

सर्बियाले लिस्बनमा पोर्चुगलमाथि२–१ को रोमाञ्चक जित निकालेपछि क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी पाँचौं विश्वकप खेल्ने आशामा केही धक्का लागेको छ।

स्पेन र क्रोएसियाले आइतबार आफ्ना प्रतिस्पर्धीमाथि साँघुरो जित निकाल्दै कतार विश्वकप२०२२ मा स्थान बनाउँदा सर्बियासँग स्तब्ध पोर्चुगलको सीधा छनोट सम्भावना समाप्त भएको हो। स्पेनले स्विडेन र क्रोएसियाले रसियामाथि क्रमशः १–० को जित निकालेका थिए। रोनाल्डोले यसअघि नै पाँच पटक युरो कप खेलिसकेका छन्।

उनी विश्वकपमा पाँचौं पटक सहभागिताको कोसेढुंगा पार गर्ने अभियानमा थिए। खेलको दोस्रो मिनेटमा नै गोलका बावजुद अग्रता जोगाउन नसक्दा पोर्चुगलले सीधै विश्वकपमा स्थान बनाउने अवसर गुमाएको थियो। बर्नाडो सिल्भाको पास सदुपयोग गर्दै खेलको सुरुआतमै रेनेटो सान्चेजले अग्रता दिलाएका थिए।

तथापि, पहिलो हाफमा नै सर्बिया खेलमा फर्कियो। डुसान टाडिचको गोलबाट सर्बियाले पुनरागमन गर्‍यो। सर्बियाले रोनाल्डोको करियरको आठ सयौं गोल गर्नबाट उनलाई रोकिरह्यो। उनले केही अवसर पाए पनि सदुपयोग हुन सकेन।

इन्जुरी समयमा एलेकसान्डर मित्रोभिचले महत्वपूर्ण गोल गर्दै सर्बियालाई विश्वकपमा स्थान सुरक्षित गराए। एक वर्षअगाडि मात्र मित्रोभिच देशका लागि खलनायक साबित भएका थिए, जहाँ उनी स्कटल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा गोल गर्न चुक्दा सर्बियाले युरो कप २०२० खेल्ने अवसर गुमायो। तर,टाडिचको हेडरमार्फत फुलह्यामको स्ट्राइकरसमेत रहेका मित्रोभिचले महत्वपूर्ण गोल गरे।

‘आजको खेल निकै यादगार नै रह्यो,’ मित्रोभिचले भने, ‘आज हामी जुनसुकै कोणबाट उत्कृष्ट टोली थियौं।’ अब पोर्चुगलसँग प्लेअफबाट मात्र विश्वकप खेल्ने अवसर छ। आगामी मार्चमा हुने प्लेअफका दुई खेल जित्न सके पोर्चुगलले सन् १९९८ देखि लगातार विश्वकप खेल्नेछ। ‘समग्र पोर्चुगिचसँग माफी माग्न चाहन्छु। तर,पनि मेरो टोलीले आगामी विश्वकप खेल्ने विश्वस्त पनि पार्न चाहन्छु,’पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘हामी मार्चमा हुने प्रतिस्पर्धामा विपक्षलाई परास्त गर्दै कतार भित्रिने तवरले तयारी थाल्नेछौं। मलाई मेरा खेलाडीप्रति पूर्ण विश्वास छ।’

यता अल्भारो मोराटाको गोलबाट स्पेन प्लेअफमा धकेलिनबाट बच्यो। सेभियामा खेल सकिन चार मिनेट बाँकी छँदा मोराटाको गोलबाट स्विडेन स्तब्ध बन्यो। क्रोएसियाले पनि आत्मघाती गोलमार्फत रसियालाई पराजित गर्दै विश्वकपमा स्थान बनायो। सन् २०१८ को विश्वकप फाइनलिस्ट क्रोएसिया पराजित हुँदा रसियाको विश्वकप यात्रा तय हुने थियो।

प्रकाशित: ३० कार्तिक २०७८ ०३:४२ मंगलबार

पोर्चुगल सर्बियाले लिस्बन क्रिस्टियानो रोनाल्डो