खेल

ट्वान्टी–२० विश्वकपमा नयाँ विजेताको पर्खाइ

दुई वर्ष अघि निर्धारित ओभर र सुपर ओभरमा पनि बराबर भएपछि अन्तत् बाउन्ड्रीका आधारमा इङ्ल्यान्डलाई नतिजा सुम्पिएपछि न्युजिल्यान्डको एकदिवसीय विश्वकप उपाधि चुम्ने लक्ष्यले पूर्णता पाएन।

न्युजिल्यान्डले पहिलोपल्ट ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाउँदा इङल्यान्डसँग दुई वर्ष अघि लडर्समा भोगेको नमिठो हारको बदलासमेत लियो। न्युजिल्यान्ड लगातार तेस्रो पटक आइसिसीका प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गरिरहेको छ। न्युजिल्यान्डले विश्व क्रिकेटकै सबैभन्दा लामो संरचनाको टेस्ट च्याम्पियनसिपको उपाधि पनि जितिसकेको छ। न्युजिल्यान्ड आइतबार ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाको सामना गर्दा छोटो संरचनाको क्रिकेटमा पनि आफूलाई अब्बल ठहर्‍याउने लक्ष्यमा हुनेछ। न्युजिल्यान्डले अहिलेसम्म ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि जित्न सकेको छैन।

त्यसैले आइतबार चिरप्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दा न्युजिल्यान्ड उपाधिमा आफ्नो नाम लेखाउन चाहन्छ। सन् २०१९ मा इङल्यान्डलाई एकदिवसीय विश्वकपको उपाधि सुम्पिँदा न्युजिल्यान्डलाई अम्पायरको एउटा गल्ती धेरै महंगो साबित बनेको थियो। जुनमा इङल्यान्डमै सम्पन्न पहिलो टेस्ट विश्व च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गर्दै न्युजिल्यान्डले दुई वर्ष अघिको पीडामा मलम लगाएको थियो। सुपर १२ को ग्रुप ‘टु’ मा रहेको न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग पराजित भयो।

तर, बाँकी रहेका चार खेलमा लगातार जित हात पारेपछि न्युजिल्यान्डले उपविजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा मिचेल डारेलको अर्धशतक र जेमी निसमको आक्रामक ब्याटिङमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई स्तब्ध पार्दै पहिलो पटक ट्वान्टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको थियो। ‘कुनै पनि टोली सेमिफाइनल मात्र जित्ने लक्ष्यका साथ प्रतियोगितामा होमिएको हुँदैन,’ निसमले भने, ‘म व्यक्तिगत रूपमा र हामी समग्र टोली इङ्ल्यान्डविरुद्धको जितले मातिएका छैनौं। हामीसँगै अभैm एउटा खेल बाँकी छ। हामीले त्यो खेल जित्न सके ठूलो उपलब्धि हात पार्नेछौं।’

तर चोटका कारण डेभोन कनवेको अनुपस्थिति भने न्युजिल्यान्डका लागि महंगो साबित बन्न सक्छ। यता अस्ट्रेलियाले पनि ग्रुप वानको उपविजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनाएको थियो। अस्ट्रेलियाले फाइनलमा स्थान पक्का गर्ने क्रममा उत्कृष्ट लयमा रहेको पाकिस्तानलाई स्तब्ध बनाएको थियो। अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नरको उत्कृष्ट लय न्युजिल्यान्डविरुद्धको फाइनलका लागि प्रमुख हतियार बन्न सक्छ। वार्नरले जारी प्रतियोगितामा उत्कृष्ट लय भेट्टाउँदै ४७.२० को औसतमा २ सय ३६ रन बटुलेका छन्। उनले पाकिस्तानविरुद्धको सेमिफाइनलमा पनि ४९ रन बनाएका थिए।

न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको फाइनलले ट्वान्टी–२० विश्वकपमा नयाँ विजेता जन्माउनेछ। सन् २००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इङल्यान्ड तथा सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजले ट्वान्टी–२० विश्वकपको उपाधि जितेका छन्। अस्ट्रेलिया सन् २०१० को ट्वान्टी–२० विश्वकपको फाइनलमा प्रवेश गरे पनि इङल्यान्डसँग पराजित भएसँगै उपविजेतामा सीमित भएको थियो। एकदिवसीय विश्वकपमा दबदबा कायम राखेको अस्ट्रेलियाले ट्वान्टी–२० विश्वकप क्रिकेटमा भने आफूलाई स्थापित गर्न सकेको छैन।

प्रकाशित: २८ कार्तिक २०७८ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App