खेल

ब्राजिल विश्वकपमा छनोट

कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।

शुक्रबार बिहान कोलम्बियामाथि १–० को साँघुरो जित निकाल्दै ब्राजिल यस महादेशबाट कतार विश्वकप २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ। दक्षिण अमेरिकाबाट चार राष्ट्र विश्वकपमा सीधै छनोट हुन पाउँदा अब तीन राष्ट्रले उक्त दाबेदारी प्रस्तुत गर्नेछन्।

ब्राजिलले भने १२औं खेलसम्म अपराजित यात्रा कायमै राख्दै पाँच खेलअगावै विश्वकप २०२२ मा स्थान बनायो। घरेलु मैदान साओ पाउलोमा लुकास पाक्वेटाले ७२औं मिनेटमा गरेको गोल नै ब्राजिलको जितका लागि पर्याप्त बन्यो। १२ खेलबाट ब्राजिलले ११औं जित निकाल्दा एक बराबरी आत्मसात् गरेको छ।

यो सफलतासँगै ब्राजिलले दोस्रो स्थानको अर्जेन्टिनासँग ९ अंक, तेस्रोको इक्वेडरसँग १४ अंक र चौथो स्थानको चिलीसँग १४ अंकको अग्रता बनायो।पाँच खेल बाँकी छँदा चिली र कोलम्बियाले १५ अंक मात्र बटुल्ने अंकगणितीय समीकरणका कारण शुक्रबारको नतिजा नै ब्राजिलको विश्वकप यात्रा तय गर्न पर्याप्त बन्यो।

कोरिन्थियस एरिनामा दुवै टोलीले विवेकपूर्ण प्रदर्शन गर्दा खेल प्रतिस्पर्धात्मक बनेको थियो। तर, स्टार खेलाडीले भरिएको ब्राजिलले चलाखीपूर्ण तवरले गोल गर्दै स्पष्ट अंक प्राप्त गर्‍यो। सफलतासँगै ब्राजिली खेलाडीले ड्रेसिङ रुममा कतारको झन्डा हल्लाएका थिए। साथै उनीहरूको सफलतामा विश्व फुटबल महासंघ फिफा र दक्षिण अमेरिकी फुटबल महासंघले पनि बधाई दिएका थिए।

यसअघि आयोजकको हैसियतमा कतारले विश्वकप २०२२ को यात्रा तय गरिसकेको छ। जर्मनी र डेनमार्कले भने छनोट चरण पार गरेर आगामी विश्वकपमा स्थान बनाएकाले अहिलेसम्म चार राष्ट्रको टुङ्गो लागेको छ।‘हामी सबैको संयुक्त प्रयासमा यो नतिजा प्राप्त भयो। हामीले आफ्नो लय समातेका छौं,’ खेलपछि पाक्वेटाले भने, ‘गोल गरेपछि खुसीले निकै चिच्याएँ।किनकि राष्ट्रिय टोलीबाट यस्तो अवसर बिरलै मिल्ने गर्दछ।

संयुक्त मिहिनेत र खुसीले हामी यो नतिजा प्राप्त गर्न सफल भयौं।मर्किन्हसबाट प्राप्त बललाई नेइमारले कोलम्बियाको रक्षापंक्तिको बीचबाट पाक्वेटालाई पास मिलाइदिएका थिए।

उक्त पास सदुपयोग गरी पाक्वेटाले बायाँ कुना च्याप्दै कोलम्बियन गोलकिपर डेविड ओस्पिनालाई बिट गराए। उनको सट ओस्पिनाको हातमा लाग्दै गोलमा परिणत भयो। ब्राजिलले सीमित मात्राको गरेको गोल अवसरमध्ये एक पाक्वेटाको सट रह्यो।

ब्राजिलका मिडफिल्डर कासेमिरोले लगातार दोस्रो खेलमा पहेँलो कार्ड पाएकाले उनले आगामी मंगलबार अर्जेन्टिनासँगको खेल गुमाउने भएका छन्। उनको स्थान फाबिन्होले लिन सक्नेछन्। कतार विश्वकपमा स्थान पक्का गरेपछि ब्राजिलका प्रशिक्षक टिटेले आगामी विश्वकप सुरु नहुन्जेलसम्म एकता, रचनात्मक शैली,गोल र जित चाहेको बताएका छन्।

‘हामीले जे सफलता पायौं, त्यो निकै सराहनीय छ। हामी जति सक्छौं सफलता चुम्ने प्रयास गर्छौं,’ पत्रकार सम्मेलनपछि टिटेले भने, ‘हाम्रो अर्को लक्ष्य प्राप्त भएपछि केही उत्सव मनाउनेछौं।’ कोलम्बियाविरुद्धको सफलतासँगै टिटेको प्रशिक्षणमा ब्राजिलले ५० जित निकाल्दा १२ बराबरी र पाँच हार आत्मसात् गरेको छ।

सन् २०१८ को विश्वकपको छनोटको मध्यबाट टिटेले ब्राजिलियन टोली समालेका थिए। उक्त विश्वकपमा उनको टोली ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ ले स्तब्ध हुँदै बाहिरिएको थियो।

प्रकाशित: २७ कार्तिक २०७८ ०४:१६ शनिबार

ब्राजिल विश्वकपमा छनोट अपराजित यात्रा ब्राजिलका मिडफिल्डर कासेमिरो ब्राजिलका प्रशिक्षक टिटे