खेल

सालाहको विकल्पमा गोर्डाेनक

मोहम्मद सालाहले लिभरपुलमा नयाँ सम्झौता गरिसकेका छैनन्।‘इजिप्सियन राजा’ को उपनाम पाएका सालाहको एनफिल्ड बहिर्गमनबारे सायदै लिभरपुलका समर्थकले कल्पना गरेका होलान्। तर सालाह बाहिरिएको खण्डमा उनको उत्तराधिकारीका रूपमा देखा परेका छन् काइडे गोर्डाेन।

यसै महिनाबाट १७ वर्षमा प्रवेश गरेका युवा विंगर गोर्डाेनले लिभरपुलको सिनियर टोलीमा पनि छाप छोड्ने संकेत गरिसकेका छन्।

प्रशिक्षक योर्गान क्लोपले सेप्टेम्बरमा इङ्लिस लिग कपअन्तर्गत नर्विच सिटीमाथि ३–० को जित हात पारेको खेलमा गोर्डाेनलाई सिनियर टोलीबाट डेब्यु गराएका थिए।

उनी फेबु्रअरीमा डर्बी काउन्टीबाट एन्फिल्डमा भित्रिएका थिए। तर क्लबमा अनुबन्धित भएको छोटो समयमै प्रभाव छोडेपछि गोर्डाेनका लागि सिनियर टोलीको ढोका खुलेको थियो।

गोर्डाेन जुन पोजिसनमा फिट देखिएका छन्,मोहम्मद सालाहले पछिल्लो केही सिजनदेखि त्यही पोजिसनबाट आफूलाई अब्बल साबित गर्दै आएका छन्। सालाहले जुन पोजिसनबाट आफूलाई विश्वकै अब्बल खेलाडीका रूपमा उभ्याएका छन्,त्यही पोजिसनमा गोर्डाेनले परीक्षा दिइरहेका छन्।

सालाह सन् २०१७ मा इटालियन सिरी ‘ए’ क्लब एएस रोमाबाट एन्फिल्ड भित्रिएका थिए। गत साता म्यानचेस्टर युनाइटेडमाथि५–० को रबाफिलो जित हात पार्दा सालाह टोलीका नायक थिए। उनी ओल्ड ट्राफोर्डमा प्रिमियर लिगअन्तर्गत ह्याट्रिक पूरा गर्ने पहिलो विपक्षी खेलाडी हुन्।

गोर्डाेनको फुटबल यात्रा

कोभिड १९ महामारीको कारण फुटबल एसोसिएसन (एफए) ले एकेडेमी फुटबल रद्द गरेपछि मात्र गोर्डाेनले डर्बी काउन्टीको यु–१८ टोलीबाट सिनियर टोलीमा प्रशिक्षणको अवसर पाए।

सोही प्रशिक्षणमा सामेल भएपछि मात्र उनका लागि एन्फिल्ड यात्राको ढोका खुलेको थियो। गोडेनले लिभरपुलको सिनियर टोलीमा एक पटक मात्र अवसर पाए।

उनका लागि आफ्नो क्षमता प्रमाणित गर्न त्यो एक खेल नै पर्याप्त बन्यो। नर्विच सिटीविरुद्ध लिग कपको खेलअघि लिभरपुलका सहायक प्रशिक्षक पेप लेन्डर्सले गोर्डाेनको प्रशंसा गरेका थिए।

लेन्डर्सले लिभरपुलको यु–२३ टोलीमा प्रशिक्षण गरिरहँदा उनी गोर्डाेनबाट प्रभावित भएका थिए। ‘यु–२३ टोलीको प्रशिक्षण हेर्न जाँदा मेरो ध्यान एउटा खेलाडीमा गयो,’लेन्डर्सले भने,‘उनमा विशेष क्षमता थियो। मैले तत्काल क्लोपलाई बोलाउँदै टोलीले नयाँ खेलाडी फेला पारेको घोषणा गरें।’

अस्ट्रियाको वाकर इन्सबर्कविरुद्धको मैत्रीपूर्ण खेलपछि क्लोपले उनलाई सिनियर टोलीबाट खेल्ने अवसर दिने निर्णय गरे।‘टोलीका अन्य सिनियर खेलाडी पनि गोर्डाेनको खेलबाट प्रभावित छन्,’लेन्डर्सले भने, ‘सिनियर खेलाडीबाट उनले धेरै कुरा सिकिसके।’

नर्विचविरुद्धको खेलसँगै सिनियर टोलीबाट गोर्डाेनको डेब्यु आश्चर्यजनक भने थिएन। ‘गोर्डाेन क्षमता बोकेका खेलाडी हुन्,’ क्लोपले भने, ‘उनले अझ धेरै सिक्न बाँकी छ। उनी टोलीमा आउँदा हामी खुुसी छाैँ। उनले भविष्यमा विशेष छाप छोड्नेछन्।’

प्रकाशित: २६ कार्तिक २०७८ ०४:०६ शुक्रबार