खेल

भिल्लाको प्रशिक्षकमा जेरार्ड

लिभर पुलका पूर्वकप्तान स्टेभन जेरार्डले प्रिमियर लिगमा प्रशिक्षणको करियर सुरुआत गर्दा एस्टन भिल्लाको जिम्मेवारी सम्हाल्नेछन्।

जेरार्डलाई एस्टन भिल्लाले बिहीबार नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको हो। स्कटल्यान्डको एक क्लबमा प्रशिक्षण गराइरहेका जेरार्डले साढे तीन वर्षको करियर समाप्त गरेसँगै प्रिमियर लिगमा अवसर पाएका हुन्।

डिन स्मिथलाई गत आइतबार मात्र बर्खास्त गरेपछि प्रशिक्षकविहीन भएको भिल्लामा लिभरपुलका पूर्वकप्तानले जिम्मेवारी पाएका हुन्। एस्टन भिल्लाले जारी सिजनको प्रिमियर लिगअन्तर्गत पछिल्ला पाँचमध्ये सबै खेलमा नतिजा सुम्पिएपछि क्लबले प्रशिक्षक स्मिथलाई बर्खास्त गरेको थियो। जुन क्लबको इतिहासमा सबैभन्दा खराब नतिजा रहेको छ।

२० टोलीले प्रतिस्पर्धा गरिरहेको प्रिमियर लिगमा लगातार पाँच खेलमा पराजित भएपछि एस्टन भिल्ला १६औं स्थानमा झरेको थियो। जुन लिगमा चेल्सी ११ खेलका साथ तालिकाको शीर्ष स्थानमा छ भने समान खेल खेलेको सिटी तीन अंकले पछि दोस्रो स्थानमा छ।

फुटबल करियरमा लिरभपुलका प्रभावशाली खेलाडी जेरार्ड लिभरपुल एकेडेमीका राम्रा प्रशिक्षकका रूपमा परिचित छन्।

‘नया प्रशिक्षकको रूपमा जेरार्डलाई नियुक्त गर्न पाउँदा हामी निकै खुसी भएका छौं।अब हामी महत्त्वाकांक्षी लक्ष्य राखेर अगाडि बढ्ने क्रममा छौं,’एस्टन भिल्लाका लागि मुख्य कार्यकारी अधिकृत क्रिस्टियन पुस्र्लोले भने।

एस्टन भिल्लाले यसअघिको प्रिमियर लिगको सिजन ११औं स्थानमा रहँदै सिध्याएको थियो।

स्टार खेलाडी ज्याक ग्रिरिलिसलाई १ सय मिलियन पाउन्डमा म्यानचेस्टर सिटीलाई बिक्री गरेसँगै एस्टन भिल्लाको खराब लय सुरुआत भएको थियो। प्रिमियर लिगमा एस्टन भिल्लाले २० नोभेम्बरमा ब्राइटनसँग प्रतिस्पर्धा गर्दै छ।  

प्रकाशित: २६ कार्तिक २०७८ ०३:०९ शुक्रबार

एस्टन भिल्लाको जिम्मेवारी स्टार खेलाडी ज्याक ग्रिरिलिस महत्त्वाकांक्षी लक्ष्य