खेल

ट्वान्टी–२०विश्वकप: बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने

दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ।

बंगलादेश क्वालिफायरबाट सुपर १२ मा छनोट भएपछिको प्रदर्शनमा खराब नतिजाबाट गुज्रिन पुगेको थियो। बंगलादेशले समूह ‘एक’ का सबै पाँच खेल गुमाएको थियो। क्वालिफायरमा ओमान र पपुवा न्युगिनीमाथिको जित बंगलादेशले आइसिसी विश्वकपमा हात पारेका दुई जित मात्र रहे।

समूह १ अन्तर्गतको तालिकामा अंक खाता खोल्न नसकेपछि बंगलादेशी क्रिकेट टोलीको चर्को आलोचना भएको थियो। समूह चरणका अन्तिम दुई खेलमा बंगलादेश एक सय रन समेत पार गर्न चुकेको थियो।

‘बंगलादेशले ट्वान्टी–२० विश्वकप क्रिकेटमा किन अपेक्षित प्रदर्शन गर्न सकेन, त्यसमाथि छानबिन गर्न समित गठन गरिएको छ,’बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले भनेको छ।

बिसिबीका पूर्व प्रमुख साबेर होसैन चौधरीले बोर्डमा खराब नेतृत्व रहेका कारण बंगलादेशले कमजोर प्रदर्शन गरेको आरोप लगाए। ‘नाजमुल हसनले बोर्ड नेतृत्व सम्हालेपछिको यो चौथो विश्वकप सहभागिता हो,’ चौधरीले भने, ‘अवस्था झन् नाजुक बन्दै गएको छ। उनले कहिल्यै पनि आफ्नो गल्ती देख्दैनन्।अरूलाई दोष दिएरै उम्कने गर्दछन्।’

पाकिस्तानले आगामी साता तीन ट्वान्टी–२० र दुई टेस्ट शृंखलाका लागि बंगलादेशको भ्रमण गर्दै छ। बंगलादेशका स्थानीय सञ्चार माध्यमले पाकिस्तानविरुद्धको शृंखलाका लागि टोलीमा व्यापक हेरफेर हुने दाबी गरेका छन्। बंगलादेशका पूर्वकप्तान मासरफ मोर्ताजाले विश्वकपको असफलतामा खेलाडीलाई मात्र दोष दिएर नेतृत्व पन्छन नहुने बताए। ‘खेलाडीलाई हानि नहुने गरी प्रक्रिया मिलाउँदै लैजाऔं,’ उनले सामाजिक सन्जालमा पोस्ट गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०७८ ०२:५५ बुधबार

आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट बिसिबीका पूर्व प्रमुख साबेर होसैन चौधरी सामाजिक सन्जाल