खेल

उचाइमा बार्सिलोनाको महिला टोली

जब क्लाउडिया रियुमाल्लो फेनिडा बिउँझिइन्, उनलाई आफू कहाँ छु भन्ने थाहा पाउन धेरै समय लागेन। उनले आफू सुतिरहेको कोठाको झ्यालबाट योहान क्रफ स्टेडियम देख्न सक्छिन्। जहाँ उनले एक दिन महिला टोलीको पहिलो रोजाइबाट खेल्ने सपना देख्दै आएकी थिइन्।

उनी आफ्नो बाल्यकालदेखिको सपना साकार पार्ने संघारमा छिन्। ला मासिया (बार्सिलोनाको युथ एकेडेमी) ले यस सिजन नौ महिला खेलाडीलाई छनोट गरेको थियो। तिनैमध्ये एक हुन् क्लाउडिया। ला मासिया नै त्यो एकेडेमी हो,जहाँबाट लियोनल मेसी, आन्द्रेज इनियस्टा र हाभी हर्नान्डेजजस्ता विश्व चर्चित फुटबल स्टारको जन्म भएको थियो।

सन् १९७९ मा क्याम्प नोउको छेउमै स्थापना भएको ला मासियाले अहिलेसम्म महिला युथ एकेडेमी सञ्चालनमा ल्याएको थिएन तर बार्सिलोनाको महिला टोलीले भने आफूलाई युरोपियन महिला क्लब फुटबलमा अब्बल साबित गर्दै आएको छ। बार्सिलोनाको महिला टोलीले गत सिजन च्याम्पियन्स लिग,लिगा फेमेनिया र कोपा डेल ला रेनियाको उपाधि जितेको थियो।

‘यस वर्ष हामीले ला मासियामा अवसर पाएका छौं,जुन हाम्रा लागि अमूल्य उपहार हो,’अभ्यासकै लागि घण्टौं लगाएर जिरोनामा जान बाध्य क्लाउडियाले भनिन्। क्लाउडियाले स्पानियोलको महिला युथ टोलीबाट खेलिसकेकी छिन्, जसले अब बार्सिलोनाको दोस्रो टोलीको प्रतिनिधित्व गर्दै छिन्।

नाजुक आर्थिक अवस्था र मेसीको अप्रत्याशित बहिर्गमनले थलिएको बार्सिलोनाका लागि महिला टोलीले मात्र सुखद समाचार दिँदै आएको छ। गत सिजन बार्सिलोनाको महिलो टोलीले तेहेरो उपाधि जित्यो।

बार्सिलोनाकी कप्तान एलेक्सिया प्युटेलास युइएफए वर्ष खेलाडी हुनुका साथै महिलातर्फ बालोन डी’अरको मनोनयनमा समेत परेकी थिइन्। बालोन डी’अरमा प्युटेलाससँगै अन्य तीन खेलाडीसमेत पर्न सफल भएका छन्।

‘हामीमाथि ठूलो जिम्मेवारी छ किनभने बार्सिलोनाले यसअघि नै आफूलाई प्रमाणित गर्दै आएको छ र हामीले त्यसलाई निरन्तरता दिनुपर्दछ,’१८ वर्षीया गोलकिपर लौरा कोरोनाडोले भनिन्। हाभी ११ वर्षको उमेरमा ला मासियामा भर्ना भएका थिए। उनी त्यहीं हुर्किए। १९ वर्षीय अंशु फाती पनि ला मासियाबाटै उदाएका हुन्।

हाभी हालै मात्र बार्सिलोनाको पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।‘महिला टोलीले जुन विश्वास दिलाएको छ,त्यसले हाम्रो मार्ग अझै स्पष्ट पारिदिएको छ,’क्लबका खेलकुद निर्देशक मार्केल जुविजारेट्टाले भने,‘हामी अझै उचाइमा पुग्नु छ।’सन् २०१२ नोभेम्बर २५ मा बार्सिलोना र लेभान्टेबीचको खेल थियो।

सो खेलमा जित हात पारेसँगै बार्सिलोनाले ला लिगा उपाधि पक्का गर्‍यो। सो खेल ला मासियाका लागि कोसेढुङगा साबित बन्यो किनभने सो खेलमा मैदान उत्रिएका खेलाडीमध्ये ११ जना बार्सिलोनाका आफ्नै उत्पादन थिए,जसमा प्रशिक्षक थिए टिटो भिलानोभा।

बार्सिलोनामा पुरुष टोलीको दबदबा रहेका कारण त्यहाँ कसरी महिला टोलीको उदय हुन्छ भन्ने दुबिधा थियो तर महिला टोलीले एकपछि अर्को सफलता हात पार्दै आफूलाई प्रमाणित गर्दै गयो। सन् २०२० सम्म स्पेनमा ७७ हजार ४ सय लाइसेन्स प्राप्त महिला खेलाडी थिए। यो संख्या अझ कम लाग्न सक्छ तर सन् २०११ मा महिला खेलाडीको संख्या मात्र ३६ हजार २ सय थियो।

‘अहिले पनि हामीले महिला फुटबललाई पूर्ण रूपमा व्यावसायिक बनाउन सकिरहेका छैनौं,’कोरोनाडोले भनिन्, ‘हामीलाई थाहा छ,हामीले पाउने तलब सुबिधा समान हुँदैन तर हामी फुटबलबाटै बाँच्न सक्छौं भन्ने आधार मात्र खोजेका हौं र हामी त्यसकै लागि लडिरहेका छौं ।’बार्सिलोना महिला टोलीकी रक्षक याना फर्नान्डेजले बाल्यकालमा केटा साथीसँगै फुटबल सिकिन्।

६ वर्षको उमेरमा उनले आफ्नो अभिभावकलाई स्थानीय क्लबमा भर्ना गरिदिनका लागि मनाइन्। अहिले उनी १९ वर्ष भइसकिन् र उनी बार्सिलोनाले तेहेरो उपाधि जित्दाकी महत्त्वपूर्ण टोली सदस्य पनि। तर वर्षौं बितिसक्दा पनि बाटो भने उही छ।‘ला मासियाले महिला युथ एकेडेमी सञ्चालनमा ल्याएको छ, यो ठूलो अवसर हो,’ फर्नान्डेजले भनिन्,‘हामी अझै धेरै अवसरको खोजीमा छौं। आशा छ,हामीले धेरैभन्दा धेरै अवसर पनि पाउने छौ।’

प्रकाशित: २४ कार्तिक २०७८ ०२:३० बुधबार

उचाइमा बार्सिलोनाको महिला टोली कोपा डेल ला रेनियाको उपाधि योहान क्रफ स्टेडियम