खेल

रसुवामा माउन्टेन बाइक हुने

बागमती प्रदेश खेलकुद विकास परिषद् र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ।

रसुवामा आगामी मंसिर १८ गते हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज हुने भएको हो। प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलामा इलिट विधामा प्रतिस्पर्धा हुनेछन्। प्रतियोगिताको दूरी ३५ किलोमिटर रहेको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका आयोजक साइक्लिङ संघका अध्यक्ष दावा तामाङले प्रतियोगिताका बारे जानकारी गराएका हुन्।

सबै विधामा गरी करिब १ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको छ। इलिटतर्फ शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ४० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। शीर्ष १० स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार राखिएको छ।

मास्टर्स र जुनियरका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ७ हजार नगद पुरस्कार पाउनेछन्।पत्रकार सम्मेलनमै दुई आयोजकबीच प्रतियोगिताबारे सम्झौतापत्रमा हस्ताक्षर पनि भएको थियो। परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र रसुवा साइक्लिङ संघका अध्यक्ष दावा तामाङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।

सदस्यसचिव भण्डारीले प्रतियोगिताका लागि परिषद्ले १० लाख उपलब्ध गराउने बताए। प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख खर्च हुने आयोजकको अनुमान छ।

सदस्यसचिव भण्डारीले खेलकुदमार्फत पर्यटनलाई पनि प्रवर्धन गर्ने उद्देश्यका साथ परिषद्ले हाइ अल्टिच्युट प्रतियोगितालाई  महत्त्व दिएको उल्लेख गर्दै यसअघि दोलखामा रेस्लिङ सम्पन्न भइसकेको र कात्तिक २७ मा सिन्धुपाल्चोकको पाँच पोखरीमा हाइ अल्टिच्युट हाफ म्याराथन हुन लागेको जानकारी गराए।

नेपाल साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सरोकार निकायसँग समन्वय गरी प्रतियोगिता आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए।

प्रकाशित: २३ कार्तिक २०७८ ०३:३८ मंगलबार

बागमती प्रदेश खेलकुद विकास परिषद् हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज नेपाल साइक्लिङ संघ