खेल

पोखरामा तीन सातापछि नेपाल आईटिएफ जुनियर(यू–१८) च्याम्पियनसिप हुने

पोखरामा अघिल्लो पटक भएको टेनिस प्रतियोगिता। फाइल तस्बिरः नागरिक

दुई वर्षपछि पोखराको टेनिस कोर्टमा विदेशी युवा खेलाडी प्रतिस्पर्धाको लागि उत्रिँदैछन्। नोभेम्बरकै आगामी २९ तारिखमा पोखरा रंगशालाको ६ वटै कोर्ट व्यस्त रहने छ।

कास्की जिल्ला टेनिस संघको आयोजना र व्यवस्थापनमा नेपाल टेनिस संघको सहयोगमा नोभेम्बर २९ तारिखमा नेपाल आईटिएफ जुनियर(यू–१८) च्याम्पियनसिप हुँदैछ। पहिलो साता सर्किट १ को प्रतिस्पर्धा हुने छ। सर्किट १ सकिए लगत्तै सर्किट २को प्रतिस्पर्धा शुरु हुने छ।

पोखराको कोर्टमा प्रतिस्पर्धा गर्न नेपालसहित भारत,अमेरिका, जर्मन, स्पेन, चीन, थाईल्याण्ड, फिलिपिन्स, मलेसिया, हङकङ लगायत देशका यू–१८ खेलाडी आउने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले जानकारी दिए। ‘पहिलो दुई दिन क्वालिफाईङ खेल्छन्। क्वालिफाईङमा छनोट भएको खेलाडीहरुले मुख्य प्रतिस्पर्धामा सहभागिता जनाउने छन्,’ उनको भनाई थियो। मुख्य प्रतिस्पर्धाको लागि खेलाडीहरुले प्राप्त गरेको अंकको आधारमा समावेश हुने पाउने छन्।

कोभिड–१९ भन्दा अघि पोखरामै आईटिएफ यू–१८ आयोजना गरिएको थियो। त्यतिबेला २६ देशका १७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। कोभिड–१९ले विश्वलाई गाँजिरहेको अवस्थामा पोखरामा आयोजना गरिने प्रतियोगिताले खेलकुदमा नयाँ आयाम थप्ने विश्वास खेलप्रेमीको छ। 

संघले आईटिएफ यू–१८ आयोजना आफैंमा अवसर र चुनौति रहेको जनाएको छ। गत वर्ष भारतमा आयोजना भएको आइटिएफ अन्तर्गतको यो प्रतियोगितामा कोभिड–१९ को सुरक्षा मापदण्ड नअपनाएको भन्दै जरिवाना तिरेको थियो। त्यसैले पनि सुरक्षा मापदण्डमा कडाई र सुरक्षित गर्नुपर्ने चुनौति संघलाई रहेको अध्यक्ष गुरुङको भनाई थियो। कोभिड–१९ को सुरक्षा मापदण्ड अपनाउनुपर्ने छ। भएका ६ वटै क्ले कोर्टलाई मर्मत गर्नुपर्ने अवस्था छ।  

‘प्रत्येक कोर्ट प्रवेशमा सेनिटाईजर, अनिवार्य मास्क, सरसफाईमा ध्यान दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा र सरसफाई महत्वपूर्ण पाटो हुन्। खेलाडीले सरसफाईर स्वास्थ्य सुरक्षाको विषयमा उजुरी दिए जरिवाना तिर्नुपर्छ।’ नोभेम्बर २९ तारिखदेखि शुरु हुने सर्किट १ को लागि खेलाडीहरु हप्तादिन अघि नै पोखरा आउने सम्भावना रहेको उनको भनाई थियो।

कोर्ट मर्मतको लागि सुर्की हाल्ने काम केही दिनमै शुरु गरिने संघले जनाएको छ। कोभिड–१९ कै कारण लामो समय पोखरा रंगशाला बन्द अवस्थामा थियो। कोरोना विरुद्धको खोप खेलाडी तथा अफिसियलको पहुँच पुगेपछि खेलकुद क्षेत्रलाई केही खुकुलो बनाईएको छ। खेलाडी सबैले कोरोनाविरुद्धको खोप लगाईसकेका छन्।

पोखरामा आईटिएफको सिनियर प्रतिस्पर्धा गरिसकिएको छ। त्यसपछि एटिएफ यू–१४ तथा आईटिएफकै यू–१८ च्याम्पियनसिप आयोजना गरिसकिएको कास्की जिल्ला टेनिस संघले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०७:२९ सोमबार

पोखरा आईटिएफ जुनियर(यु–१८)