खेल

हर्नान्डेजलाई बार्सिलोनाको जिम्मेवारी

बार्सिलोनाको प्रशिक्षक बन्न प्रतीक्षामा रहेका हाभी हर्नान्डेजको ६ वर्षपछि लक्ष्य पूरा हुँदा क्लबमा उनको आगमन सोचेजस्तो भने छैन।

२०१५ मा बार्सिलोनाबाट अन्तिम खेल खेलेका हाभीले क्लबका लागि धेरै उपाधि दिलाउँदै उचाइमा पुर्‍याउन ठूलो योगदान गरेका थिए। उनै हाभी अहिले बार्सिलोनाका प्रशिक्षकमा आएका छन्। तर अहिले क्लबको पहिचान फेरिएको छ।क्लब कठिन अवस्थाबाट लिग खेलिरहेको छ भने च्याम्पियन्स लिगमा सोचेअनुरूपको प्रदर्शन देखाउन सकेको छैन।

लियोनल मेसीको बहिर्गमनसँगै खराब नतिजाबाट गुुज्रिरहेको बार्सिलोनाको साख अहिलेसम्मको ला लिगामा भएका खेलबाट निकै खस्किएको छ। तसर्थ अघिल्ला प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेसँगै प्रशिक्षकविहीन भएको बार्सिलोनालाई सम्हाल्न पूर्वखेलाडी हाभी क्लबमा आउन चाहेका हुन्।

च्याम्पियन्स लिगको चौथो उपाधि उचाल्दै क्लबको इतिहास गौरवमय बनाएका उनै हाभीले ६ वर्ष लामो प्रतीक्षापछि क्लबमा प्रशिक्षकको जिम्मेवारी पाएका हुन्।

बार्सिलोनाले हाभी हर्नान्डेजलाई क्लबको मुख्य प्रशिक्षक बनाउने सम्झौता शनिबार गरेको हो। बार्सिलोनाले हाभीलाई क्लबको पहिलो टिमको मुख्य प्रशिक्षक बनाउने सम्झौता गरेसँगै हाभीले बाँकी रहेको यस सिजन र थप दुई सिजनका लागि बार्सिलोनासँग सम्झौता गरेका हुन्।

बार्सिलोनाका युवा एकेडेमीका उत्पादन हाभीको बार्सिलोनाका मालिकसँग र पदाधिकारीसँग लामो छलफल भएको थियो। हाभी र क्लबलाई मनाउन बार्सिलोनाका पदाधिकारी कतार नै पुगेका थिए। बार्सिलोनाले क्लबको मुख्य प्रशिक्षकका रूपमा सोमबार हाभीलाई सार्वजनिक गर्ने तयारी गरेको छ। समर्थक र आम दर्शकसमक्ष हाभीको समर्थनमा नोउ क्याम्पमा पुग्नेछन्।

पछिल्ला खेलमा बार्सिलोनाले खराब नतिजाबाट गुज्रिरहँदा क्लबको लिग र युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा पनि समूह चरणका खेलमा संकट देखिएको छ। यद्यपि क्लबमा नयाँ र पुराना खेलाडी आउने र फर्किने क्रममा जारी छ।

बार्सिलोनाका लिजेन्ड इनियस्टाको क्लब यात्रा निरन्तर रहेको अवस्थामा बार्सिलोनाकै उत्पादन लियोनल मेसीको भने खेलयात्रा भने टुङ्गिएको छ। मेसी अहिले फ्रान्सेली लिग क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट खेलिरहेका छन्। क्लबले उनलाई राख्न नसक्ने भएपछि बाध्य बन्दै मेसीले पिएसजी विकल्पको क्लबका रूपमा रोजेका हुन्।

खराब नतिजाबाट गुज्रिरहेको बार्सिलोनाले स्पेनिस ला लिगाको तालिकाको नवौं स्थानमा छ। पछिल्लो पाँचमध्ये एक खेलमा सुखद नतिजा निकालेको बार्सिलोनाले २ बराबरी खेल्दा दुई खेल गुमाएको छ। १२ खेलबाट बार्सिलोनाले १९ अंक जोड्दा चिर परिचित प्रतिद्वन्द्वी रियाल मड्रिड भने शीर्ष स्थानमा रहेको छ। यद्यपि रियाल अन्तिम खेलमा भने पराजित भएको छ।  

प्रकाशित: २२ कार्तिक २०७८ ०२:०८ सोमबार

पेरिस सेन्ट जर्मन (पिएसजी) हाभी हर्नान्डेज