खेल

लिग कपः सिटीलाई रोक्दै वेस्ट ह्याम अन्तिम आठमा

वेस्ट ह्याम युनाइटेडविरुद्ध बल अगाडि बढाउँदै म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ (नीलो)। तस्बिरः एपी

पछिल्लो चार वर्षको उपाधि विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा रोक्दै वेस्ट ह्याम युनाइटेड लिग कपको क्वार्टरफाइनलमा प्रवेश गर्दाको दिन बुधबार लिभरपुल र टोटेनह्यामले पनि अन्तिम आठमा स्थान बनाएका छन्।

पछिल्लो चार वर्ष लगातार जित निकाल्दै कीर्तिमान बनाएको सिटीको यात्रालाई पूर्णविराम लगाएको वेस्ट ह्यामले पेनाल्टीमा ५–३ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो। पराजित भएसँगै सिटी चार वर्षपछि पहिलो पटक अन्तिम १६ बाटै बाहिरिएको छ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका लागि केही राम्रा अवसर मिलाए पनि अवसरलाई सदुपयोग गर्न चुकेका थिए।

वेस्ट ह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो। पेनाल्टी प्रहारमा घरेलु टोलीका सबै पाँच खेलाडीले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दा सिटीको पहिलो अवसर खेर गएको थियो।

वेस्ट ह्यामका मार्क नोब्ले, जरोड वोवेन, क्रेइग डावसन, आरोन क्रेसवेल र सेड बेनरहमाले सहजै गोल गर्दा सिटीका लागि पहिलो प्रहार गर्न आएका फिल फोडेन गोल गर्न असफल भएका थिए। जोओ क्यान्सेलो, गाब्रियल जिसस र ज्याक ग्रेलिसले गोल गरे पनि हार टार्न सकेनन्।

पराजित भएपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सधैँ सफलता हात नमिल्ने बताउँदै आउँदा दिनमा टोलीमा सन्तुलित खेल बनाउन प्रयास गर्ने बताए।

‘सधैँ सुखद नतिजा हात लाग्छ भन्ने छैन। कहिलेकाहीं नतिजा विपक्षीको पोल्टामा पर्छ,’ पेप ग्वार्डिओलाले भने, ‘लगातारका विजेता हामीले सुखद नतिजा निकाल्नेमा विश्वस्त थियौं। तर नतिजा पोल्टामा परेन। निर्धारित समयको खेलमा गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेनौं। आउँदा संस्करणमा परिस्कृत भएर उपाधिका लागि भिड्नुपर्छ।’

लिग कपकै अर्को खेलमा लिभरपुलले पनि प्रिस्टोन नर्थ इन्डलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ। लिभरपुलको जितमा ताकुमी मिनामिनो र डिभोक ओरिगीले समान एक गोल गरे।

खेलको ६२औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने ८४औं मिनेटमा ओरिगीले गोल थप्दै २–० को जित निश्चित बनाएका थिए। यस जितसँगै लिभरपुल सबैखाले प्रतियोगिताको २३ खेलसम्म अपराजित टोली बनेको छ।

अर्को खेलमा टोटेनह्यामले बर्नलीलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउँदा ब्रेन्टफोर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ। ब्रेन्टफोर्डको जितमा सेर्गी कानोस र इभान टोनीले गोल गरे। स्टोकका रोमाइनी सयर्सले एक गोल फर्काए। लिग कपकै अर्को खेलमा लेस्टर सिटीले पेनाल्टीमा ब्राइटनलाई हराउँदै अन्तिम आठमा स्थान बनायो।

यससँगै लिग कपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनह्याम, ब्रेन्टफोर्ड र वेस्ट ह्याम अन्तिम आठमा पुगेका छन्। क्वार्टरफाइनल ‘ड्र’ आइतबार हुनेछ।

प्रकाशित: १२ कार्तिक २०७८ ०४:३४ शुक्रबार

वेस्ट ह्याम युनाइटेड लिग कप