खेल

कोयोङ क्लासिक रद्द

अस्ट्रेलियन ओपनको तयारी स्वरूप अधिकांश वार्मअप म्याच मेलबर्नमा रद्द भएपछि आयोजकले देशभित्रको कोभिड–१९ को कडा नियमका कारण रोक्नुपरेको बताएको छ।

वर्षको पहिलो ग्रान्ड स्लामका लागि सिजनको सुरुआतमा नै कोयोङ क्लासिक हुने गरेको थिए, तर महामारीका कारण उक्त वार्म अप म्याच रद्द भएको छ। कोयोङका अध्यक्ष एडम कोसारले सन् २०२२ को जनवरीमा नै उक्त प्रतियोगिता हुन नसकेकोमा दुःख व्यक्त गर्दै सन् २०२३ मा भने हुने आशा व्यक्त गरेका छन्। ‘पछिल्ला महिना अझै पनि अनिश्चितता देखिएका छन्। जनवरीमा प्रतियोगिताको व्यवस्थापन गर्न कठिन भएको छ। राम्रो व्यवस्थापनमा सुरक्षित तवरबाट आयोजना सञ्चालन गर्न कुनै सम्भावना नदेखिएपछि रद्द गर्ने निर्णय गरेका हौं,’ उनले भने।

कयौं खेलाडीहरू अझै पनि अस्ट्रेलियन ओपनमा सहभागी हुन पूर्ण भ्याक्सिनेट हुनुपर्ने या नपर्नेबारे अन्योलमा नै छन्। मेलबर्न र अन्य सहरमा पनि सोही अवस्था रहेकाले प्रतियोगिताहरू रद्द भएका हुन्। पूर्ण भ्याक्सिन नियम लागू भए नवौं पटक अस्ट्रेलियन ओपन च्याम्पियन नोभाक जोकोभिचको उपाधि रक्षाको अभियान पनि अन्योलमा रहनेछ। 

भ्याक्सिन नलगाउने कयौं खेलाडीमध्ये एक नोभाक जोकोभिच पनि एक हुन्। यसै हप्ता डब्लुटिएको इमेल बाहिरिँदा त्यहाँ भ्याक्सिन नलगाएका खेलाडीले पनि १४ दिनको क्वारेन्टिन पूरा गरेपछि प्रतियोगितामा सहभागी हुन पाउने उल्लेख गरिएको छ।

यसैबीच भिक्टोरिया सहरका प्रमुखले भने ग्रान्ड स्लाममा सहभागी हुने सबै खेलाडीले भ्याक्सिन लगाउनुपर्ने धारणा राखेका थिए। ‘जो दर्शकले पूर्ण भ्याक्सिन लगाएका छन्, उनीहरूले मात्र ग्रान्ड स्लाममा सहभागी हुन पाउनेछन्,’ भिक्टोरियाका प्रमुख डान एन्ड्य्रुले भने, ‘यदि देशभित्र प्रवेश गर्ने योजना छ भने पूर्ण भ्याक्सिन लगाउनुपर्नेछ।’ 

प्रकाशित: १० कार्तिक २०७८ ०४:४९ बुधबार

अस्ट्रेलियन ओपन वार्मअप म्याच मेलबर्नमा रद्द