खेल

श्रीलंकाको विजयी सुरुआत

चारिथ असालंकाको आक्रामक ब्याटिङप्रेरित श्रीलंकाले आइसीसी ट्वान्टी–२० विश्वकपमा विजयी सुरुआत गरेको छ।आइतबार सम्पन्न पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हरायो। बंगलादेशले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।  

२ रन जोड्दा ओपनर कुशल परेरालाई गुमाएसँगै श्रीलंकाले सुखद सुरुआत भने गर्न सकेन। दोस्रो विकेटका लागि पाथुम निस्संका र असालंकाले ६९ रनको साझेदारीका साथ श्रीलंकाको इनिङ उकासेका थिए।

निस्संकाले साकिब अल हसनको बलमा बोल्ड हुनुअघि २१ बलमा १ चौका र १ छक्काको मद्दतमा २४ रन बनाए। तर निस्संका पवेलियन फर्किएको ७ बलभित्र थप २ विकेट गुमाएसँगै श्रीलंका ७९–४ को अवस्थामा पुगेको थियो।

असालंकाले पाँचाैँ विकेटका लागि भानुका राजापाक्षेसँग ८६ रनको साझेदारी गर्दै श्रीलंकालाई जिततर्फ डोर्‍याएका थिए। असालंकाले ४९ बलमा समान ५ चौका र छक्काको मद्दतमा अविजित ८० रन बनाए। त्यस्तै राजापाक्षेले ३१ बलमा समान ३ चौका र छक्काको मद्दतमा ५३ रन जोडे।

बंगलादेशका नासुम अहमेद र साकिबले समान २ विकेट लिए। त्यस्तै मोहम्मद सैफुदिनले १ विकेट लिए। श्रीलंका र बंगलादेश प्रारम्भिक छनोट चरण पार गर्दै सुपर १२ मा प्रवेश गरेका थिए। श्रीलंकाले समूह ‘ए’ को विजेताका रूपमा र बंगलादेशले समूह ‘बी’ को उपविजेताका रूपमा सुपर १२ को टिकट काटेका थिए।

यसअघि टस हारेर ब्याटिङका लागि आएको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रनको योगफल तयार पारेको थियो।

बंगलादेशका लागि ओपनर मोहम्मद नाइमले ६२ र मुस्फिकर रहिमले अविजित ५७ रनको योगदान गरे। नाइम र लिट्टन दासले पहिलो विकेटका लागि ४० रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए।५६–२ को अवस्थामा नाइम र रहिमले ७३ रनको साझेदारी गर्दै बंगलादेशलाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए।

नाइमले ५२ बलमा ६ चौका प्रहार गर्दा रहिमले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे। श्रीलंकाका चामिका करुणारत्ने, बिनुरा फर्नान्डो र लेहरू कुमाराले समान १ विकेट लिए।

समूह एकमा श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङल्यान्ड र वेस्ट इन्डिज छन् भने समूह दुईमा नेदरल्यान्ड्स, अफगानिस्तान, स्कटल्यान्ड, नामिबिया, भारत र पाकिस्तान छन्।

यसअघि शनिबार समूह ‘एक’ मा विजयी सुरुआत गर्ने क्रममा अस्ट्रेलियाले दक्षिण अफ्रिका र इङ्ल्यान्डले वेस्ट इन्डिजलाई हराएका थिए।

प्रकाशित: ८ कार्तिक २०७८ ०४:०७ सोमबार

आक्रामक ब्याटिङ चारिथ असालंका