खेल

अस्ट्रेलियन ओपनको तयारीमा बार्टी

विश्व नम्बर एक तथा विम्बल्डन च्याम्पियन एस्लेघ बार्टी सिजनको अन्तिम डब्लुटिए फाइनलबाट बाहिरिएसँगै वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको तयारीमा जुट्ने भएकी छन्।

गत सेप्टेम्बरमा युएस ओपनको तेस्रो चरणबाट अप्रत्याशित बहिर्गमन भएपछि अस्ट्रेलियन स्टार बार्टीले कुनै पनि प्रतियोगिता खेलेकी थिइनन्। उनको यस वर्ष एक विम्बल्डनसहित पाँच उपाधिको सफलता रह्यो। 

सन् २०१९ को फ्रेन्च ओपनपछि उनले सबैभन्दा ठूलो सफलता पनि यसै वर्ष विम्बल्डनमा पाइन्। तर, वर्षको अन्त्य भने उनका लागि सुखद नहुने भएको छ। ‘यस वर्ष मेक्सिकोमा हुने डब्लुटिए फाइनल नखेल्ने सबैमा जानकारी दिन चाहन्छु,’ २५ वर्षीया बार्टीले भनिन्, ‘यो मेरा लागि कठिन निर्णय हो। तर, शरीर र रिकभरीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ। अब अस्ट्रेलियन ओपनको प्रि सिजनतर्फ ध्यान केन्द्रित गर्न चाहन्छु।’  

बार्टीले सन् २०१९ को डब्लुटिएको फाइनल जितेकी थिइन्। गत वर्षको संस्करण भने कोरोना भाइरसको महामारीका कारण रद्द हुन पुग्यो। उनले यस वर्ष अधिकांश समय देशबाहिर नै बिताइन्। किनकि उनको देश अस्ट्रेलियामा महामारी नियन्त्रणका लागि कडा स्वास्थ्य सुरक्षा नीति थियो। 

उनी गत सेप्टेम्बरमा मात्र देश फर्किंदा दुई हप्तासम्म होटलमा आइसोलेसनमा बिताएकी थिइन्। त्यसलगत्तै उनले आफू डब्लुटिए फाइनलका लागि तयार नभएको उल्लेख गरेकी हुन्। ‘क्विन्सल्यान्डबाट फर्किन फेरि धेरै चुनौती बेहोर्नुपर्ने हुन्छ। क्वारेन्टिन समय पनि बिताउनुपर्ने नियम छ। त्यसैले जनवरीमा हुने तयारीका लागि अन्य सम्झौता गर्न चाहन्नँ,’ बार्टीले भनेकी छन्।  

तथापि, डब्लुटिएमा सहभागी हुने सबै खेलाडी र टिमलाई डब्लुटिए फाइनलका लागि शुभकामना दिन चाहन्छु। बार्टी अब मेलबर्न पार्कमा हुने अस्ट्रेलियन ओपनको तयारीमा जुट्नेछिन्, जुन जनवरीमा हुने परम्परा छ। 

तथापि, यस वर्ष भने महामारीका कारण ढिला गरी मात्र अस्ट्रेलियन ओपन सुरु भएको थियो। वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनअगावै डब्लुटिएको फाइनल हुने भएकाले यस प्रतियोगितालाई नयाँ सिजनको तयारीका रूपमा पनि हेरिने गरेको छ। तर, अस्ट्रेलिया महामारीका कारण कडा नियम भएकाले वर्षको पहिलो ग्रान्ड स्लाम प्रभावित नहोला भन्न पनि सकिँदैन।  

प्रकाशित: ८ कार्तिक २०७८ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App