खेल

‘सरोकारवालासँगको सहकार्यबाट अघि बढ्छु’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक र खेल संघसँगको सहकार्यबाट अगाडि बढ्ने बताएका छन्।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको भवनमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले खेलकुदकै सरोकारवालासँग सहकार्य गर्न सके मात्र नेपाली खेलकुदले फड्को मार्न सक्ने बताएका हुन्। 

उनले आफू खेलकुद क्षेत्रको अगुवा भए पनि त्यहाँको समस्या र आवश्यकताबारे खेलकर्मी नै पूर्ण जानकार रहेकाले सहकार्यको विकल्प नभएको उल्लेख गरेका हुन्। ‘नेपाली खेलकुदको वर्तमान समस्या र आवश्यकताबारे तपाईहरू नै जानकार हुनुहुन्छ। यहाँको दुःख र पीडाका बारे खेलाडी, प्रशिक्षक र खेल संघ नै अवगत छन्,’ मन्त्री गहतराजले भने।

उक्त कार्यक्रममा नेपालका तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई बधाई तथा शुभकामनापत्र व्यक्त गरिएको थियो। नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशमशेर राणाले मन्त्रीद्वय गहतराज र श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। 

तेक्वान्दो खेलको विकासमा योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको संघले जनाएको छ। सोही अवसरमा संघका उपाध्यक्षमा मनोनीत कृष्णकुमार श्रेष्ठ, दिलबहादुर ओली, भानबहादुर चन्द तथा १० जना सदस्यलाई मनाननयपत्र प्रदान गरिएको थियो।

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई एनटिए मास्टर्स अवार्डबाट प्रदान गरिएको थियो। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ग्यरोगीतर्फ पदक दिलाएका खेलाडी उत्पादन गरेकाले मुख्य प्रशिक्षक श्रेष्ठलाई एनटिए मास्टर्स अवार्डबाट विभूषित गरिएको संघले उल्लेख गरेको छ। 

उक्त कार्यक्रममा संघका महासचिव दीपराज गुरुङले देशका लागि कयौं पदक दिलाएका संघप्रति अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभेदपूर्ण काम गर्दै पाउनुपर्ने नियमित अनुदान र पुरस्कार रकम रोकेकोमा दुःख व्यक्त गरे। 

प्रकाशित: ५ कार्तिक २०७८ ०२:२३ शुक्रबार

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघ पाली राष्ट्रिय तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ एनटिए मास्टर्स अवार्ड