खेल

च्याम्पियन्स लिग: पुनरागमनमा मेसीले जिताए पिएसजीलाई

सुपर स्टार लियोनल मेसीको दुई गोल र किलियन एम्बाप्पेको उत्कृष्ट खेलको सहयोगमा मंगलबार च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लिपजिगविरुद्ध पेरिस सेन्ट जर्मन (पिएसजी) ले ३–२ को रोमाञ्चक जित निकाल्दा प्रिमियर लिग क्लब लिभरपुलले पनि स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडलाई समान ३–२ ले पराजित गरेको छ।

यसै सिजन बार्सिलोनाबाट पिएसजी गएका मेसीको दुई गोलको सहयोगमा पिएसजीले पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगमा सुखद नतिजा निकालेको हो। निकै रोमाञ्चक बनेको खेलमा एम्बाप्पेले नवौं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।

 यसअघिको खेलमा म्यानचेस्टर सिटीसँग भारी अन्तरले पराजित भएको लिपजिगले सुधारिएको खेल प्रदर्शन गरे पनि घरेलु टोलीसँग खुलेर खेल्न सकेको थिएन।यद्यपि २८औं मिनेटमा आर्दे सिल्भाले गोल गर्दै भ्रमणकारी टोलीलाई खेलमा फर्काएका थिए। त्यसपछिको पहिलो हाफमा घरेलु टोलीले अग्रता निकाल्न निकै प्रयास गर्‍यो तर सफल हुन सकेन।

५७औं मिनेटमा नोर्दी मुकिइलीले गोल गर्दै लिपजिगलाई अग्रता दिलाए। तर अग्रता धेरै समय टिकेन। १० मिनेटपछि नै लियोनल मेसीले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए। त्यसपछि झन् रोमाञ्चक बनेको खेलको ७४औं मिनेटमा पिएसजीले पेनाल्टीबाट अग्रता लिने मौका पायो। 

लियोनल मेसीले प्रहार गरेको पेनाल्टी सहजै गोलमा परिणत हुँदा पिएसजीले पुनः अग्रताको अवसर पायो। इन्जुरी समयमा पिएसजीले अन्तर बढाउने अवसर पाए पनि पेनाल्टी प्रहारमा आएका एम्बाप्पेले गोल गर्न नसक्दा ३–२ को नतिजा नै पिएसजीको पोल्टामा पर्‍यो। जितसँगै समूह ‘ए’ को पिएसजीले ३ खेलबाट ७ अंक बनाएको छ। पराजित लिपजिगले समूहतालिकामा कुनै अंक जोड्न सकेको छैन।

‘राम्रो गर्नुपर्ने आवस्था हाम्रो अगाडि निकै छ।अहिलेको अवस्थामा जित निकाले पनि हामीले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेका छैनौं। अझै स्वाभाविक खेल प्रदर्शन गर्न हामीले मिहिनेत गर्नुपर्नेछ,’ पेनाल्टी गुमाएका स्ट्राइकर एम्बाप्पेले भने।तर प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने एम्बाप्पे र मेसीको क्षमतामाथि प्रश्न गर्नु उचित नभएको बताएका छन्।

‘एम्बाप्पे र मेसीको क्षमतालाई प्रश्न गर्नु पर्दैन। उनीहरूसँग छुट्टै क्षमता छ। हुँदाहुँदै पनि कहिलेकाहीं चुक्न सकिन्छ,’ प्रशिक्षक पोचेटिन्होले भने, ‘खेलमा खेलाडी नतिजाका लागि खेलिरहेका हुन्छन्।कहिलेकाहीं व्यक्तिगत प्रदर्शन गौण हुन सक्छ।’

च्याम्पियन्स लिगअन्तर्गत मंगलबारकै प्रतिस्पर्धामा समूह ‘बी’ को लिभरपुलले एट्लेटिको मड्रिडलाई उसैको मैदानमा समान ३–२ ले नै पराजित गर्‍यो। दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको एट्लेटिकोविरुद्ध लिभरपुलले सानदार जित निकाल्दै च्याम्पियन्स लिग यात्रामा  महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको हो।

मोहम्मद सालाह चम्किएपछि लिभरपुलले एट्लेटिकोविरुद्ध आठौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। १३औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुलको अग्रता २–० को अग्रता दिलाएका थिए। खेलको २०औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई २–१ को अवस्थामा ल्याउँदै खेलमा फर्काउने प्रयास गरेका थिए।

३४औं मिनेटमा एट्लेटिकोलाई दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा फर्काएका ग्रिजम्यानले ५२औं मिनेटमा रातो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएपछि घरेलु टोली दबाबमा परेको थियो। कम खेलाडी भएको फाइदा उठाउँदै ७८औं मिनेटमा सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३–२ को जित दिलाउन सफल भए।

यससँगै लिभरपुलले समूह चरणको खेलमा लगातार तेस्रो जित निकालेको छ। समूह ‘बी’ को शीर्ष स्थानको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ। एट्लेटिको ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। 

च्याम्पियन्स लिगअन्तर्गत मंगलबारको अर्को खेलमा आयाक्सले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दा एफसी पोर्टोले एसी मिलानलाई १–० ले स्तब्ध बनायो।समूह ‘डी’ को खेलमा रियाल मड्रिडले साख्तर डोनेस्कमाथि ५–० को एकतर्फी खेल देखायो।  

प्रकाशित: ४ कार्तिक २०७८ ०२:५२ बिहीबार

च्याम्पियन्स लिग प्रिमियर लिग क्लब लिभरपुल सुखद नतिजा पुनरागमनमा मेसीले जिताए पिएसजीलाई