खेल

यु–२३ एसियन कप छनोट: बलिया टोलीविरुद्ध राम्रो नतिजाको अपेक्षा

ताजकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप छनोट खेल्ने नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार बिदाइ गरेको छ।

उज्बेकिस्तानमा सन् २०२३ मा एएफसी यु–२३ एसियन कप प्रतियोगिता आयोजना हुँदै छ। सोही प्रतियोगिताको छनोट खेल्ने नेपाली टोलीलाई एन्फाले सोमबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो। 

ताजकिस्तानमा आयोजना हुने छनोट खेलका लागि राष्ट्रिय टोलीमा स्थान बनाएका मनीष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए। उनीहरू राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप खेलेर सोमबार मात्र स्वदेश फर्किएका हुन्।

सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले फिफा वरीयतामा नेपालभन्दा माथि रहेका टोलीसँग छनोट खेल खेल्दै छ। टोलीमा अहिले युवा खेलाडीको बाहुल्य छ भने केही राष्ट्रिय टोलीबाट अनुभव लिएका खेलाडी पनि समावेश छन्। यसै कारण प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बावजुद पनि नेपाली टोलीले बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताए।

‘हामीले छोटो समयको तयारी गरेका छौं। हामीभन्दा फिफा वरीयतामा माथि रहेका टोलीसँग प्रतिस्पर्धा गर्न त्यति सहज भने पक्कै छैन। इरान, लेबनानजस्ता बलिया टोलीको सामना गर्नुपर्नेछ,’ यु–२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘यु–२३ टोली राष्ट्रिय टोलीजस्तै हुन्छ। उनीहरूले राम्रो अभ्यास गरेका हुन्छन्। तर हाम्रो तयारी छोटो छ। अनि टोलीमा अटाएका केही खेलाडीसँग अहिलेको टोलीले अभ्यास गरेको छैन। यद्यपि तयारी रामै्र गरेका छौं।’

यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले छनोट खेलअघि इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने बताए। यस्तै एन्फाले पनि इन्डोनेसियासँगको मैत्रीपूर्ण खेल पक्का भएकाले टोलीलाई गरेको बिदाइ कार्यक्रममा बताएको छ। मैत्रीपूर्ण खेल २२ तारिखमा हुनेछ। प्रशिक्षक बालगोपाल महर्जनले इन्डोनेसियासँगको मैत्रीपूर्ण खेलले टोलीको कमीकमजोरी थाहा हुने बताउँदै उक्त खेलमा नै टोली मजबुत बन्ने बताए।

‘अभ्यास गराइरहेको टोलीमा राष्ट्रिय टोलीका केही खेलाडी समावेश गर्न बाँकी छ। उनीहरूबिना नै अभ्यास गरेका छौं।उनीहरू बिनाको अभ्यास अलि अपूरो हुन्छ,’ मुख्य प्रशिक्षक महर्जनले थपे, ‘उनीहरूको अनुभवले राम्रो नतिजाका लागि खेल्छौं।’  

प्रशिक्षक बालगोपल महर्जनले भनेजस्तै नेपाली टोलीका गोलकिपर अर्पण कार्की पनि उमेर समूहको खेलमा टोलीले राम्रो गर्ने अपेक्षा राख्दछन्। अर्पणले युवा खेलाडीको बाहुल्यता भएको र उनीहरूको मिहिनेत हेर्दा छनोट खेल राम्रो हुने विश्वास व्यक्त गरे। ‘टोलीमा नयाँ खेलाडीको बाहुल्य छ। 

सबैले राम्रो मिहिनेत गरिरहेका छन्,’ गोलकिपर अर्पण कार्कीले भने, ‘फिटनेसको विषय टोलीमा केही कमजोर देखिएको थियो। अहिले खेलाडीको फिटनेस राम्रो भएको छ। तयारी छोटो भए पनि सक्दो मिहिनेत गरेर सुखद नतिजाका लागि खेल्ने अपेक्षा राखेका छौं।’ युवा खेलाडीमा जोस भएकाले बलिया देशविरुद्ध राम्रो नतिजाका लागि खेल्ने उनले बताए। बलियो देशविरुद्ध टेक्निकल विषयमा ध्यान दिएर खेल्नुपर्ने कार्कीले थपे। यस्तै युवा स्ट्राइकर अभिषेक रिजालले बलियो टोलीविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताए।

छनोटअन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्। ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ। नेपालले समूहचरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ।

छनोटका ११ समूहका शीर्ष टोलीले एएफसी यु–२३ एसियन कप खेल्ने मौका पाउनेछन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यु–२३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका छ।

प्रकाशित: २ कार्तिक २०७८ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App