खेल

बाग्मती प्रदेश खेलकुद पुसदेखि

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेश खेलकुद प्रतियोगिता पुसदेखि आयोजना गर्ने भएको छ।

विगत दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको प्रतियोगिता आगामी पुसदेखि माघसम्म आयोजना हुने भएको हो। बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले उक्त निर्णय गरेको हो। प्रदेश खेलकुद विकास परिषद्को विनियोजित दुई करोड र थप चार करोड ५४ लाख प्रदेश सरकारसँग माग गरी प्रतियोगिताका लागि कुल लागत अनुमान ६ करोड ५४ लाख रूपैयाँ स्वीकृत गरिएको छ।

स्थानीय, जिल्ला र प्रदेश गरी तीन चरणमा हुने उक्त प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ र ब्याडमिन्टन समावेश हुने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए। स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरी जिल्ला प्रतियोगिताका लागि सहभागी पठाउनुपर्नेछ। प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताका लागि आठ लाखका दरले अनुदान प्राप्त गर्नेछन्। आगामी फागुनदेखि तय नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी प्रदेशले आफ्नो टिम तयारीका लागि पनि नवौं राष्ट्रिय खेलकुदभन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको छ।

प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन्। क्रिकेटको भने पुरुष टिमले मात्रै सहभागिता जनाउनेछ।करिब एक महिनासम्म चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरी आयोजना गरिने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए।  

प्रकाशित: २३ आश्विन २०७८ ०३:३३ शनिबार

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदी फुटबल भलिबल क्रिकेट एथलेटिक्स तेक्वान्दो कराते बक्सिङ र ब्याडमिन्टन