खेल

मालिकादेवी कपमा चार टोलीलाई सफलता

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरमा जारी प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएका खेलमा चार टोलीले जित निकालेका छन्। नगरपालिका स्तरीय प्रतियोगितामा आयोजक मेलचौर युवा जागरण बी, जलकिने युथ क्लव, वडा नं. ६ र सुनौलो बिहानी अभियानले विजय हासिल गरेका हुन्। दिनको पहिलो खेलमा मेलचौरले रानीटार युवा क्लवलाई २–० गोलले हरायो। मेलचौरको जितमा आदर्श दंगाल र अभिषेक दंगालले एक÷एक गोल गरे। मेलचौरकै निरोज दंगाल म्यान अफ द म्याच घोषित भए।  

अर्को खेलमा जलकिनेले जुगल बोर्डिङ स्कुललाई ४–० को फराकिलो गोलअन्तरमा हरायो। जलकिनेको जितमा सिर्जन बोगटीले ह्याट्रिक गोल ठोक्दा असिम राइले अर्को गोल थपे। सिर्जन नै खेलको म्यान अफ दि म्याच चुनिए। प्रदीप बुढाथोकीको म्यान अफ दि म्याच प्रदर्शित तेस्रो खेलमा वडा नं. ६ ले ईर्खु स्पोर्टस् क्लबलाई १–० गोलले स्तब्ध बनायो।  

प्रकाश खत्रीको दुई गोल प्रेरित अन्तिम खेलमा सुनौलो बिहानी अभियानले वडा नं. १३ लाई २–० ले पाखा लगायो। सुनौलाका भीमबहादुर म्यान अफ दि म्याच भए। म्यान अफ दि म्याच घोषित चारै खेलाडीले ट्र«फी पाए। बुधबार सुरु प्रतियोगिताको पहिलो दिन विभिन्न चार टोलीले विजयी सुरुवात गरेका थिए। दोस्रो चरणको खेल शुक्रबारदेखि सुरु हुने आयोजकले जनाएका छन्।  

सोमबारसम्म चल्ने प्रतियोगिताको बिजेता टोलीले उपाधिका साथ नगद ६० हजार रुपैयाँ पुरस्कार पाउने छ। उपबिजेताले ४० र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। बिधागत रुपमा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन्। नगरभित्रका २० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।  

गाउँ विकास र सुधारमा रचनात्मक काम गर्दै आएको मेलचौर युवा जागरण समाजले पहिलो पटक खेल प्रतियोगितामा हात हालेको हो। स्थानीय स्तरमा रहेका खेलाडीको प्रतिभा निखार्न प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताए। ‘खेलाडी प्रोत्साहन गर्न बर्सेनी प्रतियोगिता आयोजना गर्छौँ,’ उनले भने।  

समाजका सल्लाहकार रामकृष्ण दंगालका अनुसार प्रतियोगिता सम्पन्न गर्न झण्डै ८ लाख रुपैयाँ लाग्ने अनुमान छ। जनस्तरबाट संकलित सहयोग रकम नै प्रतियोगिता सञ्चालनको मुख्य स्रोत भएको उनले जानकारी दिए। नगरपालिकाका प्रमुख अमानसिं तामाङ प्रतियोगिताको उद्घाटन गरेका थिए।

प्रकाशित: २१ आश्विन २०७८ १३:२९ बिहीबार

चौतारा साँगाचोकगढी