खेल

महानगर खेलकुदको सडक दौड

पोखरा महानगर खेलकुद विकास समितिले पहिलो खेलकुद  प्रतियोगिताको रुपमा सडक दौड आयोजना गर्ने तयारी गरेको छ । नेपालीहरुको महान चाड बडादशैंको नजिकिदै गर्दा महानगर खेलकुद विकास समितिले शुभकामना दौड आयोजना गर्ने तयारी गरेको हो । दौड यही असोज २१ गते हुने छ । दौडको लागि आवश्यक रुट बनाउने अन्तिम तयारी छ ।  

समितिले छात्र तथा छात्र ५ किलोमिटर दौड आयोजना गर्ने छ । त्यसैगरी १० किलोमिटर महिला तथा पुरुष खुल्ला दौड समेत समावेश गरिएको छ । महानगर खेलकुद बिकास समितिको कार्ययोजना अन्तर्गत नै सडक दौड आयोजना गरिएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । ‘वर्षेनी महानगरकै फरक फरक ठाँउमा दौड आयोजना गर्ने योजना छ ।’ उनको भनाई थियो । पोखरा रंगशालाबाट शुरु हुने दौड बजार क्षेत्र परिक्रमा गरेमा गरेर पुन रंगशाला पुगेर दौड टुंग्याईने उनले बताए ।  

छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यसैगरी महिला तथा पुरुष खुल्ला १० किलोमिटर दौड विजेताले भने १५, १० र ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पोखरामै विभिन्न संघसंस्थाले दौडको आयोजना गर्दै आएका छन् ।  

भुतपूर्व खेलाडी मञ्च नेपालले पोखरामै अन्तराष्ट्रियस्तरकै पोखरा म्याराथन आयोजना गर्दै आएको छ । १५ औं सस्करण टुग्याएर मञ्चले १६ औं संस्करणको तयारीमा छ । पोखरा म्याराथन वार्षिक कार्यक्रम हो । मञ्चले म्याराथनलाई वर्षेनी फागुनमा आयोजना गर्दैआएको छ । 

प्रकाशित: १४ आश्विन २०७८ ०९:५३ बिहीबार

पोखरा महानगरपालिका सडक दौड