खेल

हेल्प नेपाल समूहविजेता

हेल्प नेपालका भारतीय खेलाडीको स्पाइक ब्लक गर्दै गलकोटका विमल दर्जी र दीपक मल्ल। तस्बिरः नागरिक

बागलुङको गलकोट स्पोर्ट्स क्लबलाई स्तब्ध बनाउँदै डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपमा समूह विजेताका रूपमा अन्तिम आठमा स्थान बनाएको छ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार समूह ‘ए’ को विजेताका लागि भएको प्रतिस्पर्धामा हेल्प नेपालले गलकोट स्पोर्ट्स क्लबमाथि ३–१ को सनसनीपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको हो। 

भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१८ ले आफ्नो बनाउँदै गलकोटलाई दबाबमा बनायो। तर, गलकोटले दोस्रो सेट २२–२५ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गर्‍यो। त्यसपछिका दुई सेट निकै प्रतिस्पर्धात्मक भए पनि हेल्प नेपालले गलकोटलाई स्तब्ध बनायो।  

हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो २५–१९ ले आफ्नो बनाउँदै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। हारपश्चात् तीन खेलमा एक हार बेहोरेको गलकोट स्पोर्ट्स क्लब उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको छ। 

विभागीय टोली नेपाल पुलिस क्लबले समूह ‘बी’ बाट विजेता बन्दै अन्तिम आठमा स्थान बनाएको छ। गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै पुलिस समूह ‘बी’को विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो। पुलिसले गण्डकीलाई २५–१४, २५–१४ र २५–१८ ले सहजै हरायो।

समूहचरणका तीनै खेलमा सफलता प्राप्त गर्दै पुलिसले तीन अंक बटुल्यो। पराजयका बावजुद गण्डकी समूह उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गर्‍यो। यसै समूहको मणिमुकुन्द भलिबल क्लबले दावाँली मिलन क्लबलाई ३–१ को सेटमा हराउँदै सान्त्वना जित निकाल्यो। 

मणिमुकुन्दले दावाँलीमाथि २५–१६, २१–२५, २५–१५ र २५–२३ को जित निकाल्यो। बिहीबारदेखि पुरुषतर्पmको क्वार्टरफाइनल खेल सुरु हुँदा हेल्प नेपालले नयाँ बजार, नेपाल पुलिसले ढोरपाटन, आर्मीले गलकोट स्पोर्ट्स क्लब तथा एपिएफले गण्डकीविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।  

त्यस्तै महिलातर्पm बुधबार त्रिभुवन आर्मीले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५–१२, २५–१३ र २५–२१ र नेपाल पुलिस क्लबले ढोरपाटन स्पोट्र्स क्लबलाई २५–१४, २५–१३ र २५–११ ले हराउँदै अन्तिम चारको यात्रा पक्का गरे। 

न्यु डायमन्ड र एपिएफ क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन्। बिहीबार एपिएफ र पुलिस तथा न्यु डायमन्ड र आर्मीबीचको खेलले समूहविजेता र उपविजेताको टुङगो लाग्नेछ। हारसँगै एभरेस्ट र ढोरपाटन ६ टोली सम्मिलित लिगबाटै बाहिरिए। आगामी असोज १६ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्पm १४ र महिलामा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रकाशित: १४ आश्विन २०७८ ०१:३६ बिहीबार

गलकोट स्पोर्ट्स क्लब डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिप