खेल

विमल प्रशिक्षणमा फर्किए

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर करिब १० महिनापछि प्रशिक्षणमा फर्किएका छन्। गत पुस ३ मा विश्वकप २०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहँदा विमलको घुँडामा चोट लागेको थियो। त्यसयता उनी मैदानबाहिर रहँदै आएका थिए।

कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा फागुन २५ गते विमलको घुँडाको सफल शल्यक्रिया भएको थियो। उनको उपचारको व्यवस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिलाएको थियो।  

नेपाली टोली अहिले ताजकिस्तानमा हुने एएफसी एसिया कप यु–२३ को बन्द प्रशिक्षणमा छ। विमल हाल सोही टोलीसँग प्रशिक्षणमा समावेश भएका हुन्। यद्यपि उनी टोलीमा भने समावेश छैनन्। प्रतियोगिताका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले गत साता ४८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए।

महर्जनले विमल यु–२३ टोलीमा समावेश भएका होइनन्। उनी चिकित्सकको सल्लाहमा फिटनेसका लागि व्यक्तिगत रूपमा प्रशिक्षणमा फर्किएको बताए।  

‘विमल हालै मात्र घुँडाको सफल उपचारपछि कतारबाट फर्किएका हुन्। उनी चिकित्सकको सल्लाहमा फिटनेसका लागि प्रशिक्षणमा समावेश भएका हुन्,’ महर्जनले भने, ‘उनी हामीसँग ताजकिस्तान भ्रमण जाने होइनन्।’

प्रकाशित: १३ आश्विन २०७८ ०१:५७ बुधबार

नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप २०२२ छनोट