खेल

पलेशालाई सम्मान

टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रूपैयाँ र प्रशंसापत्र प्रदान गरेका थिए । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

पारालम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशाले रिपाचेजमा २ खेल जित्दै कांस्य पदकनजिक पुगेकी थिइन् । रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी खेलाडीलाई हराएकी पलेशा फाइनलमा चीनकी खेलाडीसँग चुकेकी थिइन् । 

त्यसअघि मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायती खेलाडीसँग पराजित भएकी थिइन् । पारालम्पिकको प्रदर्शनपछि पलेशा विश्ववरीयताको पाँचौं स्थानमा उक्लिएकी छन् । 

प्रकाशित: ८ आश्विन २०७८ ०२:२६ शुक्रबार

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) तेक्वान्दो खेलाडी पलेशा गोवर्धन खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ महासचिव शिवसुन्दर गोथे पलेशालाई सम्मान