खेल

एट्लेटिकोको जितमा स्वारेज नायक

गेटाफेविरुद्ध गोल गरेपछि सहकर्मीकासाथ एट्लेटिको मड्रिडका स्ट्राइकर लुइस स्वारेज (बीच)। तस्बिर: एएफपी

लुइस स्वारेजको दुई गोल सहयोगमा एट्लेटिको मड्रिडले मंगलबार स्पेनिस ला लिगामा गेटाफेमाथि २–१ को पुनरागमन जित निकालेको छ।  

गेटाफेको घरेलु मैदानमा भएको खेलअन्तर्गत पहिलो हाफमा उपहार गोलबाट गेटाफेले अग्रता पाएको थियो। जान ओब्लकले बल रोक्ने प्रयासमा आफ्नै पोस्टमा बलले दिशा लिएपछि भ्रमणकारी टोलीले अग्रता पाएको थियो।

 गेटाफेको अग्रता ७४औं मिनेटमा कार्लेस एलिना रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि टुटेको थियो। दश खेलाडमा सीमित भएको चार मिनेटपछि लुइस स्वारेजले एट्लेटिकोका लागि बराबरी गोल फर्काउँदै खेलमा फर्किने संकेत देखाएका थिए। 

त्यसपछि घरेलु मैदानमा दबाबमा परेको गेटाफे रक्षात्मक हुँदै खेले पनि इन्जुरी समयमा गोल खान पुग्यो। बराबरी गोल गरेका स्वारेजले नै गोल थपेर अग्रता उल्टाउँदै रोमाञ्चक जित निकाल्न सफल भए। दुई गोल गरेका स्वारेजको नयाँ सिजनमा तीन गोल पूरा भएको छ ।

आतिथ्यता गरेको एट्लेटिकोले चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई उछिन्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ। यद्यपि रियालले एक खेल कम खेलेको छ। एट्लेटिकोले ६ खेलबाट १४ अंक जोड्दा ५ खेल खेलेको रियाल १३ अंकबाट तालिकाको दोस्रो स्थानमा छ। पराजित गेटाफेले ६ खेल खेल्दा कुनै पनि अंक जोड्न सकेको छैन।  

‘पहिलो हाफमा घरेलु टोलीविरुद्ध हामी खुलेर खेल्न सकेनौं। पहिलो गोल हुने अवस्थामा रणनीतिक हिसाबमा खेल हुन सकेको थिएन,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले भने, ‘दोस्रो हाफमा टोलीले स्वाभाविक खेल देखाउँदै खेलमा फर्किन सक्यौं। दबाब दिएर खेल्दा आक्रामक रणनीति पनि सफल भयो ।’

यसअघि भएको खेलमा गोलरहित बराबरी खेलेको एट्लेटिको रियालभन्दा दुई अंकले पछि परेको थियो। शीर्षताका लागि रोमाञ्चक बनिरहेको लिगमा बार्सिलोना भने बराबरीमा रोकिँदा होडबाट टाढा पुगेको छ। बार्सिलोना तालिकाको आठौं स्थानमा छ। यस्तै बार्सिलोनाबाट एट्लेटिको मड्रिडमा पुनः अनुबन्धित ग्रिजम्यानले भने टोलीका लागि गोल गर्न सकेका छैनन्। चार खेल खेल्दा उनी गोलविहीन छन्।  

‘ग्रिजम्यान टोलीमा स्थापित हुन प्रयास गरिरहेका छन्। छिट्टै अभ्यस्त हुनेछन्,’ प्रशिक्षक सिमोनले भने, ‘म विश्वस्त छु उनी छिट्टै पहिलेजस्तो गरी लयमा फर्किनेछन् ।’ स्पेनिस ला लिगाअन्तर्गत बुधबार भएको खेलमा भने रायो भालेकानोले एथ्लेटिको बिलबाओलाई उसैको मैदानमा २–१ ले स्तब्ध बनाउँदा सेल्टा भिगोले लेभान्टेलाई २–० हरायो। सेल्ट भिगोको जितमा इयागो आसपास र ब्रइस मेन्डिजले समान १/१ गोल गरे। 

प्रकाशित: ७ आश्विन २०७८ ०१:४८ बिहीबार

लुइस स्वारेज गेटाफेको घरेलु मैदान