खेल

क्रिकेट मैदानमा शुभकामना

नेपालको संविधान दिवसको अवसरमा ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

संविधान दिवसको अवसरमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले केक काटेर दिवस मनाएका थिए। केकमा नेपाल र ओमानको झन्डा बनााइएको थियो।

सो अवसरमा राजदूत ढकालले नेपाली टोलीलाई संविधान दिवसको शुभकामना दिनुका साथै थप सफलतको कामना गरिन्।  

कार्यक्रममा ओमान क्रिकेट संघका प्रमुख पंकज खिम्जीसहित ओमान क्रिकेट संघका उच्च पदाधिकारी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का पदाधिकारी र ओमानका खेलाडीको समेत उपस्थिति रहेको थियो।

संविधान दिवसको अवसरमा शनिबार साँझ ओमानस्थित नेपाली दूतावास परिसरमा दीप प्रज्वलन गरिएको थियो भने आइतबार बिहान राजदूत ढकालले झन्डोल्तोलन गरेकी थिइन्।

त्यस्तै जारी विश्व क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र ओमानबीचको खेल हेर्न उपस्थित दर्शकलाई लन्च बक्स वितरण गरिएको थियो।

संविधान दिवसको अवसरमा यसअघि भव्य कार्यक्रम हुने भए पनि यस पटक कोभिड १९ प्रोटोकलका कारण ठूलो कार्यक्रम गर्न नसकिएको नेपाली अधिकारीले बताए ।

प्रकाशित: ४ आश्विन २०७८ ०२:१४ सोमबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) संविधान दिवसको अवसर ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी