खेल

फ्रेन्चाइज भलिबलका लागि सम्झौता

महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाका लागि मंगलबार नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स कम्पनीबीच १० वर्षे सम्झौता भएको छ। पहिलो पटक फ्रेन्चाइच फम्र्याटमा आयोजना हुन लागेको प्रतियोगिताका लागि नेपाल भलिबल संघ र नेपाल  स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स कम्पनीबीच सम्झौता भएको हो। 

मंगलबार पत्रकार सम्मेलन गर्दै महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजनाका लागि नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रयता कार्की चौधरीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौतासँगै प्रतियोगिताका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापन र लागत खर्च इभेन्ट्स कम्पनीले गर्नेछ। कम्पनीले नाफाको ३० प्रतिशत भलिबल संघलाई दिनेछ।  

सम्झौतापछि बोल्दै नेपाल स्पोर्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरीले भलिबलको फ्रेन्चाइज प्रतियोगिताले नेपाली भलिबलले पाएको चर्चा र सफलता अझ उचाइमा पुग्ने बताइन्।  ‘भलिबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन एनएसएल भलिबल प्रतियोगिताले भूमिका खेल्ने अपेक्षा राखेका छौं,’ अध्यक्ष कार्कीले भनिन्, ‘राष्ट्रिय खेल भलिबलले पाएको सफलता यो प्रतियोगितापश्चात् थप उचाइमा पुग्ने अपेक्षा छ ।’

उपाध्यक्ष मास्केले फ्रेन्चाइज प्रतियोगिताबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्धि हासिल गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन्। सम्झौता कार्यक्रममा उपस्थित भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले फुटबलले जस्तै भलिबलले पनि चर्चा र लोकप्रियता लिने विश्वास  व्यक्त गरे।  

यसअघि फुटबलको पहिलो फ्रेन्चाइज प्रतियोगिता आयोजना गरेको स्पोट्र्स म्यानेजमेन्ट कम्पनीले भलिबलको फ्रेन्चाइज प्रतियोगिता घोषणा गरेको थियो। तर कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन। महिला र पुरुषतर्फ दुवैमा आयोजना हुने प्रतियोगितामा सातै प्रदेशबाट पुरुषतर्फ ७ र महिलातर्फ पनि ७ टोलीलाई प्रतिस्पर्धा गराउने योजना आयोजकको रहेको छ। 

प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म आयोजना हुनेछ। केही दिन हेरफेर हुन सक्ने संकेत पनि दिएको छ। उता नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले मिति पक्का भइसकेपछि खेलाडीको वर्गीकरण गर्ने बताए। भलिबल संघले खेलाडीको वर्गीकरण क, ख, ग र घ समूहमा गर्ने जनाएको छ ।

प्रकाशित: २३ भाद्र २०७८ ०२:३१ बुधबार