खेल

लेखनाथमा बहुउद्देश्यीय कभर्ड हलको लागि बजेट माग

पोखरा रंगशालाको बैकल्पिक रंगशालाको उपमा दिइएको लेखनाथ रंगशाला भने सरकारी निकाय तथा खेलकुदको सरोकारवालको ध्यान नपुग्दा पूर्वाधारले फड्को मार्न सकेको छैन । भएको फुटबल मैदान र लेखनाथ बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नति हुन सकेको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजनाको तयारी गरिरहँदा लेखनाथ क्षेत्रमा समेत राष्ट्रिय खेल आयोजना गर्न स्थानीय क्लबका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद तथा गण्डकी खेलकुद परिषदका पदाधिकारीसँग आग्रह गरेका छन् ।  

‘नवौं राष्ट्रिय खेलकुद पोखरामा आयोजना हुने हुँदा केही खेल लेखनाथ क्षेत्रमा पनि आयोजना गरिए भौतिक पूर्वाधारको विकास हुने थियो,’ स्थानीय आदर्श क्लबका सचिव पदम गुरुङले भने, ‘खेलकुद पूर्वाधारको विकास नै हाम्रो चाहना हो । पूर्वाधार अलपत्र परेको छ । जुन राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै निर्माण पुरा भए खेलकर्मीको सपना पुरा हुने थियो ।’  

पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले लामै समयसम्म पनि कभर्ड हलको लागि बजेट नआउँदा अहिलेसम्म पुरा गर्न नसकिएको गुनासो गरे । कभर्ड हल निर्माण समितिका सचिव समेत रहेका खड्काले महानगर, गण्डकी खेलकुद र राष्ट्रिय खेलकुदले समेत चासो नदिँदा पूर्वाधार रोक्दै अलपत्र राख्नुपर्ने बाध्यता रहेको बताए ।  

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले रंगशालालाई स्तरोन्नति गर्न नजिकै रहेको बस्तीलाई अन्यत्र सार्नुपर्नेमा जोड दिए । ‘बस्तीमा कति घर छन् । ती सबैलाई अन्यत्र व्यवस्थापन गरेर स्तरोन्नति गर्नुपर्छ,’ उनको भनाई थियो । महानगरपालिका– २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले प्रस्तावित लेखनाथ रंगशालालाई व्यवस्थित गुरुयोजना नै बनाएर अघि बढ्नुपर्ने सुझाव दिए । ‘गुरुयोजना बनाइएको छैन् । नक्सांकन गरेर मात्रै पूर्वाधार बनाएको छ,’ उनले भने,‘खेलकुदका सरोकार निकायले ध्यान दिनुपर्छ । स्थानीय निकायले आफनो तर्फबाट सहयोग गर्छ ।’  

कभर्ड हल बनाउन तीन करोड रुपैयाँको लागत अनुमान गरिएको छ । तर बजेट अभावले हलको सपना तत्काल पुरा हुन सक्ने अवस्था नदेखिएको स्थानीय खेलकर्मीहरु स्वीकार्छन् । निर्माणाधिन हल ४५ मिटर लम्बाई र २६ मिटर चौडाईको छ । कभर्डहलसँगै जोडिएको फुटबल मैदान र प्यारापिटको लागि भने विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा निर्माण गरिएको थियो । प्यारापिट विशेष गरी मर्सिकोर नेपाल नामक संस्थाको सहयोगमा निर्माण गरिएको छ । राखेप बोर्ड सदस्य राजेश गुरुङ, गण्डकी खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङ एवं जिल्ला खेलकुद विकास समितिका सचिव भीम पराजुली तथा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार लगायतको टोलीले खेलमैदान तथा अन्य पूर्वाधारको बारेमा निरिक्षण गरेका थिए ।  

निरिक्षणपछि गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले लेखनाथ क्षेत्रमा निर्माणाधिन र आवश्यक पूर्वाधारको लागि लागत अनुमानसहितको प्रस्तावना पत्र पठाउन सुझाए । ‘कभर्ड हलको लागि कति खर्च लाग्छ । त्यसको सबै लागत अनुमान गरेर पठाउनोस,’ उनले भने, ‘आवश्यकता अनुसार खेल पूर्वाधार निर्माणमा परिषदले गम्भीरता देखाउने छ ।’  

प्रकाशित: १७ भाद्र २०७८ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App