खेल

बक्सिङ टोली स्वदेश फिर्ता

दुबईमा सम्पन्न एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा पदक जितेका नेपालका तीन खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ।

अगस्ट २० देखि ३१ तारिखसम्म दुबईमा सम्पन्न च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले पदक जितेका थिए। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले र बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापामगरलगायतले स्वागत गरे। 

६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन्। उक्त टोली कुल ११ सदस्यीय थियो। तीन खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ। पुरुष जुनियर ५४ केजीमा छिरिङवाङ्दी शेर्पाको यात्रा सेमिफाइनलमा टुङ्गिएपछि उनी कांस्य पदकमै खुम्चिए।  

क्वार्टरफाइनलमा कुवेतका खेलाडीमाथि ५–० को जित निकालेका छिरिङ सेमिफाइनलमा भने ताजकिस्तानका खेलाडीसँग चुके। यो स्पर्धामा ताजकिस्तानकै खेलाडीले स्वर्ण नै जिते। विमानस्थलमा भएको स्वागत कार्यक्रममा छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ संघ र गुरुहरूले पनि धेरै सहयोग गरेका कारण सफलता प्राप्त भएको बताए। 

छिरिङले सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको बताउँदै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको उल्लेख गरे। महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा र युथ ५७ केजीमा नारिका राईले कांस्य पदक जितेका थिए।

प्रकाशित: १६ भाद्र २०७८ ०१:५४ बुधबार

बक्सिङ टोली अन्तर्राष्ट्रिय विमानस्थल