खेल

मंगलबारबाट पारालम्पिक सुरु

जापानका सम्राट नारुहितोले एक वर्ष ढिला गरी आयोजित पारालम्पिकको मंगलबार उद्घाटन घोषणा गरेका छन्। ६८ हजार दर्शक क्षमता रहेको बन्द टोकियो ओलम्पिक स्टेडियममा जापानका सम्राटले यस संस्करणको पारालम्पिक उद्घाटन गरेका हुन्। 

कोरोना महामारीका कारण अधिकांश खेल आयोजनामा दर्शकलाई प्रतिबन्ध लगाइएकोे छ। ‘म टोकियो पारालम्पिक २०२० को शुभारम्भ घोषणा गर्दछु,’ सेतो मास्कमा रहेका सम्राटले भने। उक्त उद्घाटन समारोहमा भिआइपी र अफिसियल गरी ८ सय जनाको उपस्थिति थियो, जहाँ १ सय ६३ राष्ट्रका खेलाडीले बहुप्रतीक्षित प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। करिब तीन हजार चार सय पारालम्पियन र टिम अफिसियल मार्च पासमा सहभागी थिए। मार्च पासमा अफगानिस्तानका टोलीको झन्डा भने भोलेन्टियरले बोकेका थिए।  

यस टोकियो पारालम्पिकमा सहभागिता हुन नपाउने २१ राष्ट्रमध्ये एक अफगानिस्तान पनि थियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष एन्ड्य्रु पार्सन्सले यस आयोजनामार्फत परिवर्तनको सन्देश जाने विश्वास व्यक्त गरे। १३ दिनसम्म चल्ने प्रतिस्पर्धामा २२ खेलका खेलाडीहरूले ५ सय ३९ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्। टोकियो ओलम्पिकजस्तै पारालम्पिकमा पनि दैनिक कोरोना परीक्षण गरिएको छ। पारालम्पिकको उद्घाटन भइरहँदा बाहिर जापानिज नागरिकले आयोजनाको विरोध गरिरहेका थिए। पछिल्लो दुई हप्ता जापानमा दैनिक २५ हजार मानिस कोरोना संक्रमित भइरहेका छन्।  

जहाँ जनसंख्याको ४० प्रतिशत मानिसले मात्र कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन्। अझै पनि टोकियोलगायत अन्य सहरमा स्वास्थ्य आपत्काल लागू छ। रेस्टुरेन्ट र बारहरू खोल्ने सीमित समय छुट्याइएको छ। यसै पारालम्पिकमार्फत तेक्वान्दो र ब्याडमिन्टनले डेब्यु गर्दै छन्।  

मार्च पासमा चार नेपाली  

टोकियो पारालम्पिकमा नेपालको तर्फबाट एक मात्र खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। यसै पारालम्पिकमार्फत पारा तेक्वान्दोले डेब्यु गर्ने अवसर पाएको थियो। जहाँ नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दै छिन्। उनै पलेशाले पारालम्पिकको उद्घाटन समारोहमा नेपालको झन्डा बोकिन्।  

उनीसँगै सेभ द मिसन सरोज श्रेष्ठ, प्रशिक्षक कविराज नेगी लामा र चिकित्सक दीपक श्रेष्ठ उद्घाटन समारोहमा मार्च पास गरेका थिए। कोरोना महामारीका कारण एक खेलाडी रहेको टोलीमा चार अफिसियलको मात्र सहभागिता गर्ने पाइने प्रावधान राखिएको टोलीका सदस्य दीपक विष्टले जानकारी दिए। पलेशाले वाइल्ड कार्डमार्फत के–४४ विधाअन्तर्गत ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छिन्। तेक्वान्दो खेल आगामी सेप्टेम्बर ३ मा सुरु हुनेछ। एसियन च्याम्पियनसिपमा पदक जितिसकेकी पलेशाले पदक जित्न सक्ने आशा गरिएको छ। 

प्रकाशित: ९ भाद्र २०७८ ०२:४८ बुधबार

कोरोना महामारी पारालम्पिक मंगलबार उद्घाटन जापानका सम्राट