खेल

सफलता दोहोर्‍याउने लक्ष्यमा जर्जिन्हो

चेल्सीका जर्जिन्होका लागि गत सिजन फलदायी रह्यो। यस सिजन पनि स्टाम्फोर्ड ब्रिजमा सोही सफलता दोहोर्‍याउने लक्ष्यमा छन् उनी। चेल्सीले च्याम्पियन्स लिग विजेता बनेपछि चुलिएको जर्जिन्होको चर्चा गत महिना इटालीले युरोपियन च्याम्पियनसिप २०२० को उपाधि जितेसँगै थप भएकोे थियो।

एकै सिजन च्याम्पियन्स लिग र युरो कप २०२० जित्ने जर्जिन्हो ११ औं खेलाडी हुन्। ब्राजिलको समुद्री किरानाबाट फुटबल यात्रा सुरुआत गरेका जर्जिन्होले वेम्बलीमा पाएको जितले उनको चर्चालाई थप उचाइमा  पुर्‍याएको  छ। गत साता उनले आफ्नो उपाधिसंख्या थप गरेका छन्। चेल्सीले गत साता भिल्लारियाललाई हराउँदै सुपर कपको उपाधि जितेको थियो।

उपाधियात्रा २९ वर्षे जर्जिन्होका लागि आदत बनिरहेको छ र उनी अझै उपाधिका भोका छन्। जर्जिन्होे फुटबल जीवन बनाउनकैका लागि इटाली गएका थिए। जहाँ उनले फुटबल प्रशिक्षणका लागि साताको २० युरो तिर्नुपर्थ्यो। चेल्सीका प्रशिक्षक माउरिसियो सारीले जर्जिन्होलाई यस पटक बालन डी’अर को प्रबल दाबेदारका रूपमा लिएका छन् ।

‘धेरै उत्कृष्ट खेलाडी छन्,जो यस पटक बालन डी’अर को दाबेदार छन् तर एकै वर्ष च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनसिप २०२० को उपाधि विजेता भएका कारण जर्जिन्हो बलिया दाबेदार हुन्,’ चेल्सीका मिडफिल्डर काई हाभार्ट्जले भने, ‘उनीसँगै एकै टोलीमा खेल्न पाउनु गर्वको विषय हो।’ प्रशिक्षक सारीसँगै जर्जिन्हो तीन वर्षअघि एकै दिन नेपोलीबाट स्पाम्फोर्डब्रिज भित्रिएका थिए। चेल्सीले जर्जिन्होलाई ५७ मिलियन पाउन्डमा अनुबन्धित गरेको थियो।  

चेल्सीमा अनुबन्धित भएपछि जर्जिन्होले आमा मारिया टेरिजा फेर्तियाससँग चेल्सीको सोरुम भ्रमण गरेका थिए। फेर्तियासले नै जर्जिन्होलाई सुरुमा फुटबल प्रशिक्षण दिएकी थिइन्। सोरुममा जर्जिन्होको नाम अंकित चेल्सीको जर्सी देखेपछि उनी भावुक बनेकी थिइन्।

तर चेल्सीमा सुरुआती दिन जर्जिनोका लागि सुखद बन्न सकेन। सारी र उनी एकै क्लबबाट एकै दिन आएकाले पनि समर्थकहरूले उनी क्षमता भएर भन्दा पनि सारीसँगको सम्बन्धका कारण टोलीमा भित्रिएको आरोप लगाएका थिए। चेल्सीले सो सिजन तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्‍यो । चेल्सीलाई युरोपा लिग च्याम्पियन बनाए पनि सारी स्टाम्फोर्ड ब्रिजको यात्रामा पूर्णविराम लगाउँदै युभेन्ट्समा आबद्ध भए। तर जर्जिन्हो चेल्सीमै बसे। नयाँ प्रशिक्षक फ्रांक लाम्पार्ड आएसँगै जर्जिन्होलाई पुनः आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने चुनौती थपियो।

सन् २०१९ को प्रि–सिजन भ्रमणका लागि डब्लिन निस्किएको चेल्सीका लागि जर्जिन्होको प्रदर्शनबाट लाम्पार्ड प्रभावित बनेका थिए। लाम्पार्डले आफू चेल्सीमा रहुन्जेल जर्जिन्होलाई आफ्नो रणनीतिको प्रमुख हतियार बनाइरहे। उनै जर्जिन्हो लाम्पार्डको बहिर्गमनपछि टोली सम्हाल्न आएका थोमस टचेलको सफलताका लागि टोलीमा मुख्य खेलाडी बने।

ब्राजिलको सान्टा क्याटरिनामा जन्मिएका जर्जिन्होले चेल्सीको सुरुआती दिनमा समर्थकले गिज्याउँदा एक दिन उत्कृष्ट प्रदर्शनबाटै उनीहरूको मुख टाल्ने अठोट लिएको समेत बताए।

१५ वर्षको उमेरमा उनी फुटबल प्रशिक्षणका लागि इटालीको भेरेनामा गएका थिए। जर्जिन्होले प्रशिक्षणका लागि इटाली जाने निर्णय एउटा सपना साकार पार्ने माध्यम बने पनि पढाइ र फुटबल प्रशिक्षण सँगसँगै लानुपर्ने र फुटबल प्रशिक्षणका लागि साताको २०डलर तिर्दा धेरै कठिनाइ भोग्नुपरेको बताए।

प्रशिक्षणमा सहभागी भए पनि जर्जिन्होले व्यावसायिक फुटबलका लागि कुनै पनि क्लबको प्रस्ताव पाएनन्। उनका साथी राफाइलले एजेन्टले पैसा मात्र लिएको र कुनै क्लबसँग व्यासायिक खेलजीवनका लागि प्रक्रिया अघि नबढाएको बताएपछि उनी निराश बने।  

‘म फुटबलबाट टाढा हुने निर्णयमा पुगिसकेको थिएँ। मैले यस विषयमा आमालाई पनि जानकारी गराएँ,’  जर्जिनोले भने, ‘तर आमाले मलाई यस्तो गल्ती नगर्न सुझाउनुभयो। मलाई धैर्य गर्न भन्नुभयो र म आफ्नो निर्णयबाट पछि हटें।’ जर्जिन्होले भेरोनाबाट सिरी ‘बी’ मा खेल्ने अवसर त पाए। जहाँ उनले आफ्नो क्षमता प्रमाणित गर्दै नेपोलीको सिनियर टोलीबाट सिरी ‘ए’ खेल्ने अवसर जुराए। सन् २०१८ मा जर्जिन्होे स्टाम्फोर्डब्रिज भित्रनुअघि म्यानचेस्टर सिटीले पनि उनलाई अनुबन्धित गर्ने इच्छा देखाएको थियो।

सन् २०१६ मा उनी पहिलो पटक इटालीको राष्ट्रिय टोलीमा परेका थिए। जर्जिन्होले आफूसँग ब्राजिल र इटाली रोज्ने विकल्प भए पनि सुरुआतमा आफूलाई इटालीले अवसर दिएकाले ब्राजिलको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका थिए।

‘पक्कै पनि हाम्रो इच्छा ब्राजिलको प्रतिनिधित्व गर्ने नै थियो,’ एभर्टनका मिडफिल्डर एलानले भने, ‘यस विषयमा हामीबीच कुराकानी पनि भएको थियो। हामीसँग इटाली र ब्राजिलमध्ये कुनै एक राष्ट्र रोज्ने विकल्प थियो। यस्तोमा मैले ब्राजिलबाटै खेल्ने निर्णय लिएँ भने जर्जिन्होले इटाली रोजे। यो व्यक्तिगत निर्णय हो । उनले आफूलाई क्लबबाट र राष्ट्रबाट पनि उत्कृष्ट प्रमाणित गरिसकेका छन्। पछिल्लो केही महिनायता उनले हात पारेको सफलताले उनलाई यस पटक बालन डी’अर को प्रबल दाबेदारका रूपमा उभ्याएको छ।

प्रकाशित: २ भाद्र २०७८ ०१:०० बुधबार

उत्कृष्ट खेलाडी चेल्सीका प्रशिक्षक माउरिसियो सारी नयाँ प्रशिक्षक फ्रांक लाम्पार्ड सफलता दोहोर्‍याउने लक्ष्यमा जर्जिन्हो