खेल

केनको सम्भावित सरुवाले तनाव

कप्तान ह्यारी केन म्यानचेस्टर सिटी जाने चर्चा चलिरहँदा टोटेनह्यामका प्रशिक्षक नुनो स्प्रिन्टो सान्टोले छिट्टै सरुवा बजार बन्द भएको र केनको भविष्यका बारेका दुबिधा अन्त्य भएको हेर्न चाहेको बताएका छन् । जुनदेखि नै केनलाई भित्र्याउन सिटी इच्छुक रहेको र त्यसका लागि पेप ग्वार्डिओलाको टोली १ सय ३९ मिलियन डलर खर्चन तयार रहेको खबर सार्वजनिक भइरहेका छन् ।

केन र टोटेनह्यामबीचको सम्झौता अझै ३ वर्ष बाँकी छ। इङ्लिस प्रिमियर लिगमा विजयी सुरुआत गर्ने क्रममा टोटेनह्यामले साबिक विजेता सिटीलाई १–० ले स्तब्ध पारेको थियो। यद्यपि सो खेलमा केन भने मैदान उत्रिएका थिएनन्। टोटेनह्यामले भने केन अझै केही सिजन आफूहरूसँगै रहने दाबी गर्दै आएको छ। 

केही दिनअघि मात्र सिटीका प्रतिनिधिले केनको अनुबन्धका लागि टोटेनह्यामका अध्यक्ष ड्यानियल लेभीलाई भेटेको र लेभीले केनको सरुवाका लागि १ सय ६० मिलियन पाउन्डको प्रस्ताव अघि सारेको खबर सार्वजनिक भएको थियो। सिटीविरुद्धको खेलमा केनलाई टोलीमा नराखेको टोटेनह्यामले युरोपा कन्फरेन्स लिग प्लेअफअन्तर्गत पाकोस डी फरेइराविरुद्धको खेलका लागि भने उनलाई टोलीमा समावेश गरेको छ ।

‘यो हाम्रो आफ्नो टोली हो,’ नुनोले भने, ‘तर सरुवा बजार जारी रहँदा को खेलाडी टोलीमा बस्छ वा बस्दैन भन्ने टुङ्गो हुँदैन। हामीले खेलाडीलाई क्लबमै बस्नका लागि मनाउन सक्नुपर्छ। ३१ अगस्टमा सरुवा बजार बन्द नभएसम्म यही खेलाडी यो सिजन क्लबमा बस्छ भन्न सकिँदैन। यो हाम्रो नियन्त्रणबाहिरको कुरा हो। सबै क्लबको चाहना टोलीमा उत्कृष्ट खेलाडी भित्र्याउने हुन्छ र टोलीमा हाल भएका उत्कृष्ट खेलाडीलाई बाहिर जान नदिने पनि। मेरो पनि यही चाहना छ ।’

‘ह्यारी केनले हामीसँगै अभ्यास गरिरहेका छन्। आइतबार बिहानसम्म पनि उनी प्रशिक्षणमै छन्,’ नुनोले थपे, ‘उनी टोलीप्रति प्रतिबद्ध छन्। केन टोलीमै रहून् भन्ने हाम्रो लक्ष्य हो। त्यसका लागि क्लबले कुनै कसर बाँकी राख्दैन। किनभने उनी टोलीका प्रमुख खेलाडी हुन्। तर सरुवा बजार बन्द नभएसम्म केही बताउन सकिँदैन। कुनै एक खेलाडीले क्लब छोड्दा टोलीको लक्ष्य धरमराउन सक्छ तर लक्ष्यमा पूर्णविराम भने लाग्दैन ।’ हालसम्म टोटेनह्यामबाट कुनै पनि उपाधि जित्न नसकेका केनले पटकपटक उत्कृष्ट टोलीमा जाने इच्छा भएको खुलासा गर्दै आएका छन्। 

केन र सन ह्युङ–मिनको उत्कृष्ट प्रदर्शनमा टोटेनह्याम दुई पटक प्रमुख उपाधिको नजिक पुगे पनि दुवै पटक सफल हुन सकेन। सन् २०१९ को च्याम्पियन्स लिग फाइनलमा लिभरपुलसँग निराश भएको टोटेनह्याम गत सिजन इङ्लिस लिग कप फाइनलमा सिटीसँग पराजित भएको थियो। सन् २००८ यता कुनै पनि प्रमुख प्रतियोगिताको उपाधि जित्न नसकेकको टोटेनह्यामले गत सिजन साताैँ स्थानमा बस्दै सिजनको अन्त्य गरेसँगै यस सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएको थियो ।

प्रकाशित: १ भाद्र २०७८ ०२:१८ मंगलबार

कप्तान ह्यारी केन म्यानचेस्टर सिटी केन र टोटेनह्यामबीचको सम्झौता