खेल

इपिएलमा विश्वकप विजेता

श्रीलंका क्रिकेट टोलीको तीनै फरम्याटमा कप्तानी गरिसकेका दिनेश चन्डिमालको आगामी एभरेस्ट प्रिमियर लिग (इपिएल)को टोली भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन्। आगामी असोज ९ देखि २३ सम्म एभरेस्ट प्रिमियर लिग (इपिएल) हुँदै छ, उक्त फ्रेन्चाइज लिगमा खेल्ने उनी टेस्ट राष्ट्रका पाँचौं क्रिकेटर हुन्। 

यसअघि पाकिस्तानका साहिद अफ्रिदी (काठमाडौं किङ्स–११), सोएब मलिक, डानिस अजिज (चितवन टाइगर्स) र वेस्ट इन्डिजका कार्लोस ब्राथवेट उक्त सूचीमा छन्। ब्राथवेट र मलिकको भने टोली घोषणा भइसकेको छैन। भैरहवाले बिहीबार विज्ञप्तिमार्फत अनुभवी क्रिकेटर चन्डिमाललाई अनुबन्धित गरेको जनाएको हो। उनलाई विदेशी खेलाडीको रूपमा भैरहवाले भित्राएको हो।

उनले श्रीलंकाका लागि तीनै फरम्याटका क्रिकेटको कप्तानीसमेत गरिसकेका छन्। उनी सर्वाधिक कम उमेरमा श्रीलंकाको ट्वान्टी–२० टोलीको कप्तानी गर्ने खेलाडी हुन्। सन् २०१३ मा चन्डिमालले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गरेका थिए। श्रीलंकाले सन् २०१४ को ट्वान्टी–२० विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य हुन्। फाइनलमा भारतलाई ६ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको थियो।

विकेटकिपर ब्याट्सम्यान चन्डिमालले सन् ०१३ मा दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीयमा पनि कप्तानी गरेका थिए। उनले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ एकदिवसीय र ५७ ट्वान्टी–२० खेलेका छन्। उनले इन्डियन प्रिमियर लिग (आइपिएल)को टोली राजस्थान रोयल्सबाट खेलिसकेका छन्। ३१ वर्षे उनै चन्डिमाल अब नेपालको फ्रेन्चाइज क्रिकेट टोलीका सदस्य भएका छन्। उनको टोली ग्लाडियटर्सबाट शरद भेषावाकर, प्रदीप ऐरी, आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशंकर झा, अभिनाश बोहोरा, कुशल मल्ललगायतले खेल्नेछन्। उक्त टोलीको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दसानायकेले जिम्मेवारी पाइसकेका छन्। 

प्रकाशित: २९ श्रावण २०७८ ०२:१९ शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टोली इपिएलमा विश्वकप विजेता श्रीलंका क्रिकेट टोली एभरेस्ट प्रिमियर लिग (इपिएल)