खेल

सन् २०२८ को ओलम्पिकमा क्रिकेटको दाबेदारी

विश्व क्रिकेटको प्रशासकीय निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले क्रिकेटलाई आगामी सन् २०२८ को लस एञ्जल्स ओलम्पिकमार्फत ओलम्पिक प्रतिस्पर्धामा फर्काउने लक्ष्य रहेको बताएको छ।

आइसिसीले सन् २०२८ को ओलम्पिकमा फर्कने तवरले तयारी गरिरहेको र जसले १ सय २८ वर्षसम्मको पर्खाइ पनि अन्त्य गर्ने सम्भावना देखाएको हो। क्रिकेट खेल एक पटक मात्र ओलम्पिकमा प्रतिस्पर्धा हुँदा सन् १९०० को पेरिस ओलम्पिकमा समावेश थियो। उक्त ओलम्पिकमा ग्रेट ब्रिटेनले फ्रान्सको टोलीलाई १ सय ५८ रनले पराजित गरेको थियो। गत आइतबार सम्पन्न टोकियो ओलम्पिकले ठूलो आकारमा समर्थक रहेको क्रिकेट खेललाई ओलम्पिकमा समावेश हुन प्रेरणासमेत दिएको आइसिसीका अध्यक्ष ग्रेग  बार्क्लेले बताएका छन्।

‘आइओसी र टोकियो २०२० लाई हार्दिक बधाई दिन चाहन्छौं। खराब समयमा पनि जापानले खेल आयोजना गर्न सफल भयो,’ आइसिसीका अध्यक्ष ग्रेगले भने, ‘यो विश्वस्तरीय खेल हेर्न पाउनु निकै खुसीको कुरा हो। ओलम्पिकमा क्रिकेट पनि समावेश होस् भन्ने हाम्रो चाहना छ।’ साथै उनले ओलम्पिकमा क्रिकेटको सहभागिता दीर्घकालसम्म रहने तरिकाले अगाडि बढाउने लक्ष्य रहेको बताए। 

‘क्रिकेट दीर्घकालसम्म ओलम्पिकमै रहोस्। हामीसँग  करोडौं समर्थक छन्। तीमध्ये ९० प्रतिशतको क्रिकेट ओलम्पिक सहभागी होस् भन्ने चाहना छ,’ उनले भने, ‘क्रिकेटमा धेरै राम्रो समर्थक भएको खेल हो। दक्षिण एसियामा मात्र हाम्रो ९२ प्रतिशत समर्थक छन्। अमेरिका पनि ३० मिलियन क्रिकेटका समर्थक छन्।’ उनले ती समर्थकको चाहना ओलम्पिकमा आफ्ना क्रिकेट स्टारले प्रदर्शन गरोस् भन्ने रहेको समेत प्रतिक्रिया दिए। आगामी सन् २०२० मा बर्मिङ्घममा हुने कमनवेल्थ गेम्समा पनि क्रिकेट समावेश भइसकेको छ। जहाँ महिलातर्फ ट्वान्टी–२० फरम्याटको प्रतिस्पर्धा मात्र हुनेछ।

सन् १९९८ मा मलेसियामा सम्पन्न कमनवेल्थ गेम्स दक्षिण अफ्रिकाले जितेको थियो,जहाँ ५० ओभरको प्रतिस्पर्धा भएका थिए। ‘सन् २०२२ को कमनवेल्थमा क्रिकेट पनि हुनेछ। जसले ओलम्पिकमा सहभागी गराउन प्रेरणासमेत दिनेछ,’आइसिसीको विज्ञप्तिमा उल्लेख छ। आइसिसीका अध्यक्ष बार्क्लेले विश्वका अन्य खेलले पनि ओलम्पिकमा सहभागिताको सपना देखेकाले क्रिकेटको ओलम्पिक यात्रा सहज नहुने स्पष्ट पारे। ‘ओलम्पिकमा सहभागी हुने सबै खेलका चाहना हुन्छ। तर, क्रिकेटले त्यो ठाउँका लागि राम्रो दाबेदार प्रस्तुत गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं। हेरौं, क्रिकेट र ओलम्पिकबीच कस्तो किसिमका साझेदारी हुन सक्छन्,’उनले भनेका छन्।

प्रकाशित: २७ श्रावण २०७८ ०३:१० बुधबार

ओलम्पिक यात्रा ओलम्पिकमा क्रिकेट आइसिसी क्रिकेट खेल