खेल

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखी १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ।  

सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए।

१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने जनाएको एन्फाले जानकारी दियो।

वर्ष दिन पछि धकेलिएको प्रतियोगिता यस अघि सेप्टेम्बर १४ देखि २५सम्म ढाकामा हुने तालिका रहेको थियो। तर आयोजक बंगलादेशले कोभिड–१९ महामारीका कारण आयोजना नगर्ने जानकारी गराएपछि आयोजकको अनिश्चित भएको थियो। अन्तत माल्दिभ्समा हुने पक्का भएको हो। बंगलादेशले कोरोना महामारीका कारण आयोजना गर्न नसक्ने जनाएपछि नेपाल र माल्दिभ्सले आयोजनाका लागि चासो देखाएका थिए।

साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक आयोजना भएको छ। १९९७ मा पहिलो  पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो। प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ। अभ्यासका लागि नेपाली टोली मंगलबार पोखरा  प्रस्थान गर्ने तालिका छ। 

प्रकाशित: २५ श्रावण २०७८ १२:३२ सोमबार

३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने